सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मेन्द्र कार्की साहसिक कार्यतर्फको उत्कृष्ट प्रहरी पुरस्कारबाट पुरस्कृत भएका छन्। ७१औँ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्कीलाई साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार नगद ५० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेको हो।
प्रदेशभर उत्कृष्ट अनुसन्धान तथा प्रभावकारी कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा कार्कीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। प्रहरी सेवामा उच्च मनोबल, साहस, अनुशासन र कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई सम्मानित गरिएको प्रशंसापत्रमा उल्लेख छ।
कार्कीले सुनसरीको रामधुनी नगरपालिका–२ मा सिटी सफारी चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको गोली प्रहार गरी हत्या गरिएको घटनाको अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उक्त घटनाका मुख्य योजनाकार नन्दकिशोर साहसहित सात जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन उनले सक्रिय भूमिका खेलेका थिए।
अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने, शान्ति सुरक्षा कायम गर्ने तथा नागरिकमा सुरक्षाको अनुभूति दिलाउने कार्यमा पुर्याएको योगदानको कदरस्वरूप कार्कीलाई पुरस्कृत गरिएको हो।
कर्तव्यपालनका क्रममा साहस, व्यावसायिक दक्षता र अनुसन्धानमा देखाएको सक्रियताको कदर गर्दै प्रदान गरिएको यस सम्मानले प्रहरी संगठनभित्र सकारात्मक ऊर्जा थप्नुका साथै जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न अन्य प्रहरी कर्मचारीलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।






