इटहरी , असोज २७। बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज देशभर नवदुर्गामध्येकी तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। शक्ति, साहस र शान्तिको प्रतीकका रूपमा पूजिने चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि दसैँघर, घरका पूजा कोठा तथा विभिन्न शक्तिपीठ र देवी मन्दिरमा भक्तजन जुटिरहेका छन्।
धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीको पूजा गर्नाले शक्ति, साहस र आत्मविश्वास प्राप्त हुने तथा नकारात्मक शक्तिबाट रक्षा हुने विश्वास गरिन्छ। नवरात्रका नौ दिनमध्ये तेस्रो दिन विशेष रूपमा चन्द्रघण्टा देवीको उपासना गर्ने परम्परा रहिआएको छ।
चन्द्रमा र घण्ट धारण गरेकी देवी
पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्ट धारण गरेकी भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा समेत चन्द्रघण्टा देवीको स्वरूप र महिमाबारे उल्लेख गरिएको छ।
देवीको स्वरूपलाई शक्ति र शान्तिको अद्भुत संयोजनका रूपमा व्याख्या गरिन्छ। अन्याय, अत्याचार र आसुरी प्रवृत्तिको विनाश गर्ने देवीका रूपमा चन्द्रघण्टालाई लिने गरिन्छ। धार्मिक विश्वासअनुसार उहाँको आराधनाले भक्तजनमा साहस, धैर्य र सकारात्मक ऊर्जा प्राप्त हुन्छ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रका अवसरमा देवीको विशेष पूजा–आराधना गर्ने परम्परा शक्ति प्राप्तिसँग जोडिएको छ। त्यसैगरी, विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको महिमा र कृपाबारे वर्णन गरिएको उल्लेख गरेका छन्।
आध्यात्मिक साधना र संगीतसँग पनि सम्बन्ध
चन्द्रघण्टा देवीको आराधना आध्यात्मिक साधनासँगै संगीत तथा कलाक्षेत्रसँग पनि जोडिएको धार्मिक मान्यता छ। विशेषगरी साधकहरूले यस दिन देवीको स्वरूपमा ध्यान गर्दै आत्मिक शान्ति, एकाग्रता र सकारात्मकताको कामना गर्ने गर्छन्।
नवरात्रको तेस्रो दिन मणिपुर चक्रमा ध्यान गर्ने परम्परा पनि प्रचलित छ। धार्मिक विश्वासअनुसार देवीको ध्यान र साधनाले व्यक्तिमा आत्मबल तथा आध्यात्मिक चेतना अभिवृद्धि हुन्छ।
घटस्थापनादेखि नवदुर्गाको आराधना
नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जौको जमरा राखेर देवीको आराधना सुरु गरिएको थियो। पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएकोमा आज तेस्रो दिन चन्द्रघण्टा देवीको उपासना गरिँदै छ।
नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ। यी नौ स्वरूपलाई समग्रमा नवदुर्गा भनिन्छ।
नवरात्र अवधिभर दुर्गा सप्तशती अर्थात् चण्डीपाठ, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने तथा विधिपूर्वक पूजा–आराधना गर्ने चलन छ। यस अवधिमा घरघरमा जमरा उमार्नुका साथै शक्तिपीठ र देवी मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको भीड लाग्ने गर्छ।






