इटहरी । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दसैँको धार्मिक अनुष्ठान र दुर्गा भवानीको पूजा–आराधना प्रारम्भ भएको हो।

घटस्थापनाका अवसरमा आज देशभरका घरघरमा विधिपूर्वक कलश स्थापना गरी जौँ रोपेर जमरा राखिँदै छ। यससँगै नौ दिनसम्म चल्ने नवरात्रको विशेष पूजा सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको उत्तम साइत बिहान ११ः४७ बजे रहेको छ।

दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने धार्मिक परम्परा छ। नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नवदुर्गाको पूजा–आराधना गरिन्छ। प्रत्येक दिन दुर्गाका फरक–फरक नौ स्वरूपको पूजा गर्ने परम्पराअनुसार भक्तजनले श्रद्धापूर्वक धार्मिक अनुष्ठान गर्नेछन्।

घटस्थापनाका दिन घरको पूजा कोठा वा दसैँघरमा शुद्ध माटो वा बालुवा राखेर जौँ रोपिन्छ। विधिपूर्वक राखिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीकासँगै ग्रहण गरिन्छ। जमरालाई समृद्धि, सुख, शान्ति र शुभकामनाको प्रतीक मानिन्छ।

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा पनि आजदेखि विधिपूर्वक जमरा राखेर दुर्गा भवानीको विशेष पूजा सुरु गरिँदै छ। यस अवसरमा देशभरका शक्तिपीठ तथा भगवती मन्दिरहरूमा भक्तजनको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

कात्तिक ४ गते विजयादशमी

यस वर्षको विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यस दिन देवी विसर्जनको साइत बिहान ८ः४९ बजे र टीका तथा जमरा ग्रहणका लागि उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दसैँको अवसरमा परिवारका सदस्य, आफन्त र इष्टमित्र एकै ठाउँमा भेला भएर खुसी साटासाट गर्ने चलनले यस पर्वलाई पारिवारिक पुनर्मिलनको विशेष अवसरका रूपमा स्थापित गरेको छ।

रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका मानिसहरू दसैँ मनाउन आफ्नो जन्मथलो फर्कने क्रम पनि सुरु भएको छ। शैक्षिक संस्थामा बिदा सुरु भएसँगै सहरी क्षेत्रबाट गाउँघर जाने यात्रुको चहलपहल बढ्ने गरेको छ।

धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक आत्मीयताको संगमका रूपमा रहेको बडादसैँले नेपाली समाजमा आपसी सद्भाव, एकता र मेलमिलापको सन्देश दिँदै आएको छ।

तपाईको प्रतिक्रिया