इटहरी — सुनसरीको इटहरी–१३ निवासी सुनिल सरदार लागूऔषधका १४१ ट्याब्लेटसहित पक्राउ परेका छन्। चाडपर्वको समयमा लागूऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रण गर्ने अभियानअन्तर्गत खनार प्रहरीले उनलाई पक्राउ गरेको हो।

खनार प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) चिरञ्जीवी खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले गरेको कारबाहीका क्रममा सरदार पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ।

पछिल्लो समय खनार क्षेत्रमा लागूऔषध सेवन तथा अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ। प्रहरीको सक्रियतासँगै लागूऔषधसम्बन्धी गतिविधिमाथि निगरानी र कारबाहीलाई तीव्र बनाइएको छ।

यसैबीच, दशैंलगायत चाडपर्वको समयमा तास, जुवा, डाइस तथा लङ्गुरबुर्जा खेल्ने गतिविधिमा संलग्न नहुन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता गैरकानुनी गतिविधिमा संलग्न पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

खनार क्षेत्रलाई लागूऔषधमुक्त, सुरक्षित र शान्त बनाउने अभियानमा प्रहरीको सक्रियतासँगै स्थानीयवासीको सहयोग र सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ।

तपाईको प्रतिक्रिया