काठमाडौँ/भुवनेश्वर । अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा राष्ट्रपिता महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा नेपालका प्रतिष्ठित सांस्कृतिक शोधकर्ता, वरिष्ठ ज्योतिषाचार्य तथा सामाजिक अभियन्ता डा. कमलप्रसाद दाहाल अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुनुभएको छ।
भारतको ओडिशास्थित भुवनेश्वरमा रहेको एमजीजीपी इन्डिया फाउन्डेसन (MGGP India Foundation) ले विश्वशान्ति, मानवता, भाइचारा, अहिंसा तथा गान्धीवादी दर्शनको प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको कदर गर्दै डा. दाहाललाई ‘ग्लोबल पिस एम्बेसडर’ (विश्वशान्ति दूत) का रूपमा नियुक्त गरेको हो।
फाउन्डेसनद्वारा प्रदान गरिएको नियुक्तिपत्रअनुसार डा. दाहाललाई आजीवन (Lifetime) विश्वशान्ति दूतको जिम्मेवारी प्रदान गरिएको छ। उहाँलाई ‘महात्मा गान्धी ग्लोबल पिस अवार्ड’ बाट समेत सम्मानित गरिएको जनाइएको छ।
विश्वशान्ति, अहिंसा, आध्यात्मिक चेतना र मानवीय मूल्यको प्रवर्द्धनमा क्रियाशील व्यक्तित्वका रूपमा डा. दाहालले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सनातन संस्कृति, अध्यात्म र शान्तिको सन्देश प्रवाह गर्दै आउनुभएको छ।
यसै क्रममा एमजीजीपी इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘गान्धी पिस इन्टरनेसनल अवार्ड तथा पिस समिट’ मा डा. दाहाललाई विशिष्ट अतिथि (Guest of Honour) का रूपमा सहभागी हुन आमन्त्रणसमेत गरिएको छ।
सम्मान प्राप्त गरेपछि डा. दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै यो उपलब्धि परमेश्वरको कृपा, मातापिताको आशीर्वाद, शुभचिन्तकहरूको साथ र आफ्नो निरन्तर कर्मको परिणाम भएको बताउनुभएको छ।
उहाँले आफ्नो आध्यात्मिक भाव व्यक्त गर्दै भन्नुभएको छ—
“ॐ श्री सूक्ष्मविश्वविन्दु निराकार अखण्ड परम महागुरु, मातापिताको आशीर्वाद, यहाँहरू सबैको साथ र मेरो निरन्तर कर्मले आज विश्व अहिंसा दिवस र महात्मा गान्धी दिवसका दिन ‘विश्वशान्ति सम्मान’ र ‘विश्वशान्तिदूत आजीवन’ प्राप्त हुने अत्यन्त गौरवमय सौभाग्य मिल्यो। प्रदान गर्ने र निमन्त्रणा गर्ने संस्थाप्रति हार्दिक आभार प्रकट गर्दछु।”
डा. दाहालको यो सम्मानलाई नेपालबाट विश्वशान्ति, अहिंसा, आध्यात्मिक चेतना तथा सनातन संस्कृतिको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
महात्मा गान्धीले प्रतिपादन गर्नुभएको अहिंसा, सत्य, शान्ति र मानवताको आदर्शलाई आत्मसात् गर्दै विश्वमा शान्ति र सद्भाव कायम गर्न योगदान पुर्याउने प्रतिबद्धतासहित प्राप्त यो जिम्मेवारीले डा. दाहालको सामाजिक तथा आध्यात्मिक यात्रालाई थप अन्तर्राष्ट्रिय उचाइ प्रदान गरेको छ।
नेपालको मौलिक संस्कृति, दर्शन, अध्यात्म र शान्तिको सन्देशलाई विश्वमञ्चमा पुर्याउने अभियानमा यो सम्मानले थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।






