इटहरी । इटहरीमा सम्पन्न ‘मिसेस जितिया २०२६’ को ग्राण्ड फिनालेमा प्रीती कुमारी चौधरीले उपाधि जित्नुभएको छ। थारु फिल्म एन्ड कल्चरल एसोसिएसन नेपाल (टीएफसीए) को आयोजनामा भएको प्रतियोगितामा १७ जना प्रतियोगीलाई पछि पार्दै चौधरीले ‘मिसेस जितिया २०२६’ को ताज पहिरिनुभएको हो।
इटहरी पार्टी प्यालेसमा आयोजित फिनालेमा बिनिता चौधरी प्रथम रनरअप र लक्ष्मी चौधरी दोस्रो रनरअप घोषित हुनुभयो। त्यस्तै मुनिता चौधरीले पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभयो।
महिलाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक महत्व र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
भदौ २९ गते अडिसनमार्फत छनोट भएका प्रतियोगीलाई असोज २ गतेदेखि १२ दिनसम्म व्यक्तित्व विकास, नेतृत्व क्षमता, प्रस्तुति कला तथा जितिया पर्वसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।
फिनालेमा तीन सदस्यीय निर्णायक मण्डलले प्रतियोगीहरूको प्रस्तुति, व्यक्तित्व र क्षमता मूल्यांकन गरेको थियो। निर्णायक मण्डलमा अधिवक्ता रामराज चौधरी, थारु विज्ञ बद्रीलाल सिक्दार तथा मिस पूर्वेली आइकनकी प्रथम रनरअप रइशा चौधरी रहनुभएको थियो।
उपाधि विजेता प्रीती कुमारी चौधरीले प्रतियोगितामार्फत आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरसँगै थारु समुदायको मौलिक संस्कृति र जितिया पर्वको पहिचानलाई अझ व्यापक बनाउने अवसर प्राप्त भएको बताउनुभएको छ।
आयोजकका अनुसार ‘मिसेस जितिया’ सौन्दर्य प्रतियोगितामा मात्र सीमित नभई महिलाको आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक सहभागिता अभिवृद्धिसँगै थारु भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित कार्यक्रम हो।
प्रतियोगिताका सबै १७ जना सहभागीलाई प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।






