
इटहरी । नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक शालिक सुवेदीले एनटिभी इटहरीको छैटौँ प्रमुखका रूपमा आजदेखि कार्यभार सम्हाल्नुभएको छ।
कोशी र मधेस प्रदेशलाई केन्द्रमा राखेर समाचार तथा विभिन्न कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको एनटीभी इटहरीमा सुवेदीको आगमनसँगै स्थानीय तह, प्रदेश सरकार र सञ्चार क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सुवेदीले कार्यभार सम्हालेको अवसरमा एनटीभी इटहरीको सभाहलमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा एनटीभी इटहरीका कर्मचारी, पत्रकार तथा विभिन्न जिल्लाका संवाददाताहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्दै एनटीभी इटहरीका प्रमुख सुवेदीले हरेक समाचार जनताको समाचार भएकाले जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचारमार्फत एनटीभीप्रतिको जनविश्वासलाई थप मजबुत बनाउनुपर्ने बताउनुभयो।
स्थानीय सुशासन, विकास र जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठान गर्दै टेलिभिजनको व्यावसायिक धर्म र संस्थागत जिम्मेवारीसमेत प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
यसैबीच, एनटीभी इटहरीका प्रमुख सुवेदीको आगमनसँगै इटहरी उपमहानगरपालिका र नेपाल टेलिभिजनबीचको सहकार्य अझ मजबुत हुने विश्वास नगर प्रमुख हेमकर्ण पौडेलले व्यक्त गर्नुभएको छ। स्थानीय सुशासन र विकासका गतिविधिलाई जनतासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले एनटीभी इटहरीसँग सहकार्य गर्न उपमहानगरपालिका हरसम्भव प्रयासरत रहने बताउनुभयो।
एनटीभी इटहरीले विगत लामो समयदेखि कोशी र मधेस प्रदेशका स्थानीय तह तथा प्रदेश सरकारसँगको सहकार्यमा जनसरोकार, विकास र सामाजिक विषयमा केन्द्रित विभिन्न कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएको छ। स्थानीय तहका गतिविधि, विकास निर्माण, सेवा प्रवाह तथा नागरिकका सवाललाई प्रदेश र राष्ट्रिय तहसम्म पुर्याउन एनटीभी इटहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
सुवेदीको नेतृत्वमा स्थानीय तह, प्रदेश सरकार र नागरिकसँगको सम्बन्धलाई थप बलियो बनाउँदै स्थानीय आवाजलाई राष्ट्रिय बहससम्म पुर्याउने तथा गुणस्तरीय र विश्वसनीय सामग्री उत्पादनमा जोड दिने अपेक्षा गरिएको छ।
स्वागत कार्यक्रममा सहभागी कर्मचारी, पत्रकार तथा जिल्ला संवाददाताहरूले नयाँ नेतृत्वसँग सहकार्य गर्दै एनटीभी इटहरीको समाचार तथा कार्यक्रम उत्पादनलाई थप प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।






