
मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ६ को मनोनयन दर्ताअघि नै नेता तथा कार्यकर्ताबीच झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानमा भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तब्दार, चेतराज रेग्मीलगायत करिब एक दर्जन नेता–कार्यकर्ता घाइते भएको बताइएको छ।
मनोनयनका लागि भेला भएका बेला दुई पक्षबीच भनाभनपछि हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रारम्भिक विवरणअनुसार पार्टीभित्रको पुरानो विवाद तथा व्यक्तिगत असमझदारीका कारण विवाद बढेको बताइएको छ।
झडपपछि बुधबारका लागि तय गरिएको मनोनयन दर्ता प्रक्रिया रोकिएको छ। घटनापछि कांग्रेसको आन्तरिक निर्वाचनमा देखिएको गुटगत विवाद र संगठनात्मक अनुशासनबारे प्रश्न उठेको छ।
अब निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन समिति, उम्मेदवार तथा सम्बन्धित पक्षबीच सहमति र सुरक्षित वातावरण निर्माण गर्नुपर्ने देखिएको छ।





