
सुनसरीको इटहरी–११ खनारमा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खनार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खनार चोकस्थित पाथिभरा होटलमा छापा मार्दा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–११ का सुमित गुरुङ र वडा नम्बर १२ का अजय चौधरी रहेको प्रहरीले जनाएको छ। होटलमा ब्राउन सुगरको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। खनार क्षेत्रमा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिएसँगै ब्राउन सुगर, गाँजा लगायतका लागूऔषधसहित व्यक्ति पक्राउ पर्ने क्रम बढेको छ।





