
नेपाली काङ्ग्रेसको इतिहास लामो छ, विरासत ठुलो छ र लोकतान्त्रिक आन्दोलनमा यसको योगदानलाई अस्वीकार गर्न सकिँदैन । तर इतिहासको गौरवले वर्तमानको राजनीतिक हिसाब तिर्दैन । हरेक पुस्ताले आफ्नो समयको परीक्षा आफैं दिनुपर्छ । आज काङ्ग्रेसभित्र देखिएको विवादलाई यही कोणबाट हेर्नुपर्ने हुन्छ, दोस्रो पुस्ताले पाएको अवसर कति थियो र त्यसको राजनीतिक परिणाम के रह्यो ? पुर्णबहादुर खड्का, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत लगायतका नेताहरू काङ्ग्रेसको नेतृत्व, सरकार र संगठनमा लामो समयदेखि प्रभावशाली भुमिकामा रहेका पात्र हुन । उनीहरू अवसरबाट वञ्चित पुस्ता होइनन् । त्यसैले आजको संकटको जिम्मेवारी केवल नयाँ पुस्ता वा वर्तमान नेतृत्वमाथि थोपरेर दोस्रो पुस्ता उम्किन सक्ने अवस्था छैन । व्यक्तिगत रूपमा कसले के योगदान गर्यो भन्ने अलग विषय हो । तर प्रश्न सामुहिक राजनीतिक परिणामको हो, यति लामो अनुभव र अवसरपछि पनि काङ्ग्रेस किन बारम्बार आन्तरिक विवादको चक्रमा फर्किरहन्छ ?
विशेष महाधिवेशनपछि संस्थापन पक्षसँग असन्तुष्ट समूहले सानेपाको केन्द्रीय कार्यालयबाट अलग रहेर चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्यो । त्यहीँबाट समानान्तर गतिविधि अघि बढे र अन्ततः छुट्टै महाधिवेशनको तयारीसम्म पुग्यो । यो घटनालाई केवल एउटा गुटको प्रशासनिक तयारी भनेर हेर्न मिल्दैन । यसले एउटा गम्भीर राजनीतिक प्रश्न उठाएको छ, एउटै पार्टीभित्र असहमतिको समाधान समानान्तर संरचना निर्माण हो कि संवाद र सहमतिका माध्यमबाट एउटै संरचनालाई बलियो बनाउनु हो ? असहमति लोकतन्त्रको स्वाभाविक पक्ष हो । नेतृत्वसँग असहमत हुनु, निर्णयमाथि प्रश्न उठाउनु वा फरक धारणा राख्नु कुनै कमजोरी होइन । तर असहमतिको संस्थागत समाधान खोज्नुपर्ने ठाउँमा छुट्टै संगठन, छुट्टै संरचना र छुट्टै महाधिवेशनतर्फ जान थालियो भने विवाद केवल नेतृत्वको रहँदैन; पार्टीको वैधानिकता र संगठनात्मक एकताको प्रश्नसमेत जोडिन्छ ।
असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजना गर्यो । डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी प्रक्रिया अघि बढ्यो । चुनदेवीमा बसेको तयारी समितिले छुट्टै कार्यतालिका सार्वजनिक गर्यो । पछिल्लो चरणमा उक्त समूहले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत खटाइसकेको छ । यसरी हेर्दा घटनाक्रम स्पष्ट छ—असन्तुष्टि → छुट्टै सम्पर्क कार्यलय → राष्ट्रिय भेला → छुट्टै तयारी समिति → छुट्टै संगठनात्मक प्रक्रिया → समानान्तर महाधिवेशन । अब प्रश्न उठ्छ, यो यात्राको अन्तिम राजनीतिक गन्तव्य के हो ? संस्थापन पक्षले आफ्नो कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ भने देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ र शशांक कोइरालाले त्यसको तयारी सम्हालिरहेका छन् । यो विवादको कानुनी र राजनीतिक पक्षबारे दुवै पक्षका फरक दाबी छन् । तर एउटै पार्टीका लागि दुईवटा महाधिवेशन, दुईवटा संगठनात्मक दाबी र दुईवटा वैधानिकताको व्याख्याले समाधान दिन्छ कि विवादलाई अझ गहिरो बनाउँछ ? यो प्रश्नको उत्तर इतिहासले होइन, काङ्ग्रेसका वर्तमान नेता र कार्यकर्ताले दिनुपर्नेछ ।
पूर्णबहादुर खड्का, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, विजयकुमार गच्छदार र प्रकाशशरण महत आदि सबै नाम काङ्ग्रेसको दोस्रो पुस्ताको लामो राजनीतिक यात्रासँग जोडिएका छन् । यीमध्ये कसैको योगदान कम वा बढी भनेर यहाँ फैसला गर्नु आवश्यक छैन । तर यति चाहिँ सोध्नैपर्छ दोस्रो पुस्ताले पार्टीलाई उत्तराधिकारीको रूपमा के हस्तान्तरण गर्दैछ ? संगठन बलियो भएको काङ्ग्रेस ? विचारमा स्पष्ट काङ्ग्रेस ? नेतृत्व हस्तान्तरणको सहज परम्परा भएको काङ्ग्रेस ? कि गुटगत प्रतिस्पर्धा, असन्तुष्टि र समानान्तर संरचनाको विवादमा अल्झिएको काङ्ग्रेस ? यही प्रश्नले दोस्रो पुस्ताको राजनीतिक मूल्याङ्कन गर्ने आधार तयार गर्छ । यो सन्दर्भमा पुर्णबहादुर खड्काको पछिल्लो राजनीतिक भुमिकाले छुट्टै अर्थ राख्छ । समानान्तर महाधिवेशनको बाटोबाट उनी क्रमशः टाढिँदै संवाद र पार्टी एकताको पक्षमा देखिएका छन् । उनले गगन थापालाई महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी शेरबहादुर देउवा तथा अन्य वरिष्ठ नेतासँग संवाद गर्न आग्रह गरेका छन् ।
त्यसअघि पनि खड्काले राष्ट्रिय भेलालाई औपचारिक महाधिवेशनमा परिणत गर्दा पार्टी विभाजनको जोखिम बढ्न सक्ने धारणा राखेका थिए । पछि उनीसँग निकट मानिएका धेरै नेता थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा जोडिसकेका छन् ।
यसबाट एउटा कुरा देखिन्छ काङ्ग्रेसभित्र समानान्तर बाटोप्रति एउटै धारणा छैन । असन्तुष्ट समुहभित्रै पनि संवाद, सहभागिता र एकताको विकल्प खोज्ने राजनीतिक मत बलियो छ । डा. शशांक कोइराला अहिले केवल एउटा पक्षका वरिष्ठ नेता मात्र होइनन्; समानान्तर महाधिवेशन तयारीको प्रत्यक्ष जिम्मेवारीमा छन् । त्यसैले उनको भुमिका विशेष अर्थपुर्ण रहन्छ । उनका अगाडि आफ्नो पक्षको दाबीलाई संस्थागत रूपमा अघि बढाउने कि काङ्ग्रेसको दीर्घकालीन एकताको प्रश्नलाई सम्बोधन गर्ने दुईवटा राजनीतिक दायित्व एकैसाथ देखिन्छन् । यहीँनेर दोस्रो पुस्ताको नेतृत्व क्षमताको वास्तविक परीक्षा हुन्छ । नेतृत्व भनेको आफ्नो पक्षलाई संगठित गर्नु मात्र हो कि फरक पक्षलाई एउटै राजनीतिक घरभित्र राख्ने क्षमता पनि हो ? प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महतजस्ता नेताहरूले काङ्ग्रेसको संगठन, सरकार र सत्ता राजनीतिलाई नजिकबाट देखेका छन् । उनीहरूसँग अनुभव छ, राजनीतिक पहुँच छ र लामो समयको संगठनात्मक स्मृति पनि छ । तर अनुभव आफैंमा उपलब्धि होइन । अनुभवले कठिन समयमा सही राजनीतिक निकास दिन सक्यो भने मात्र त्यसको अर्थ हुन्छ । आज काङ्ग्रेसलाई फेरि त्यही प्रश्नले घेरेको छ अनुभवी नेताहरूले संकट समाधान गर्ने भुमिका खेल्ने कि संकटसँगै आफ्नो–आफ्नो राजनीतिक कित्ता सुरक्षित गर्ने ?
यो प्रश्न कुनै एक नेतामाथि मात्र होइन, दोस्रो पुस्ताका सबै नेतामाथि लागु हुन्छ ।
डा. शेखर कोइरालाले वर्तमान महाधिवेशन कार्यतालिकाप्रति असहमति जनाउँदै सहमतिको प्रयासका लागि केही समय लिनुपर्ने धारणा राखेका छन् । यसले काङ्ग्रेसभित्रको वर्तमान विवाद केवल दुई व्यक्तिको प्रतिस्पर्धा होइन भन्ने देखाउँछ । यहाँ नेतृत्व, महाधिवेशनको प्रक्रिया, प्रतिनिधित्व, कृयाशिल सदस्यता र पार्टीको वैधानिक संरचनाजस्ता विषय जोडिएका छन् । त्यसैले समाधान पनि व्यक्तिको जित हारभन्दा माथि उठेर खोजिनुपर्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । काङ्ग्रेस कसको हो ? नेताहरूको काङ्ग्रेस ? गुटहरूको काङ्ग्रेस ? कि हजारौँ कार्यकर्ताले वर्षौं पसिना बगाएर बनाएको राजनीतिक संगठन हो ? कार्यकर्ताले नेताको गुटसँग आफ्नो राजनीतिक भविष्य जोडेको होला, तर अन्ततः उनीहरूलाई एउटै पार्टी, एउटै संगठन र स्पष्ट राजनीतिक दिशाको आवश्यकता हुन्छ । समानान्तर संरचना लामो समय कायम रह्यो भने सबैभन्दा ठूलो बोझ संगठनको तल्लो तहले बोक्नुपर्ने हुन्छ । त्यसैले अहिलेको प्रश्न कसले कसलाई जित्यो भन्ने होइन । प्रश्न यो हो कि दोस्रो पुस्ताले काङ्ग्रेसलाई अर्को पुस्ताका लागि कस्तो अवस्थामा हस्तान्तरण गर्दैछ ? विरासत ठूलो हुनु पर्याप्त छैन । लामो राजनीतिक यात्रा हुनु पनि पर्याप्त छैन । इतिहासमा नाम हुनु पनि पर्याप्त छैन । अन्ततः नेतृत्वको मूल्याङ्कन उसले संकटका बेला पार्टीलाई कहाँ पुर्यायो भन्नेबाट हुन्छ । पार्टी भित्र असहमति रहन सक्छ । प्रतिस्पर्धा पनि रहन्छ । नेतृत्वका लागि संघर्ष हुनु लोकतान्त्रिक पार्टीको स्वाभाविक प्रक्रिया हो । तर संघर्षले पार्टीलाई बलियो बनाउँछ कि संरचनालाई दुईतिर धकेल्छ ? निर्णायक प्रश्न यही हो। काङ्ग्रेसको संकटको समाधान अर्को काङ्ग्रेस बनाउनु हो कि काङ्ग्रेसभित्रै समाधान खोज्नु हो ? समयले यसको उत्तर मागिरहेको छ र यसपटक त्यो उत्तर दोस्रो पुस्ताले दिनुपर्नेछ ।


