इटहरी । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज भएको इटहरी नगर अधिवेशनबाट इन्जिनियर सूर्यनारायण चौधरी नगर सचिव पदमा सर्वसम्मत चयन हुनुभएको छ। इटहरी उपमहानगरपालिका–१३ निवासी चौधरी लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै सामाजिक तथा सामुदायिक गतिविधिमा समेत निरन्तर संलग्न रहँदै आउनुभएको छ।
समाजसेवा र प्राविधिक क्षेत्रमा समेत परिचित चौधरी नेपाल रेडक्रस सोसाइटी खनार उपशाखाका सभापति हुनुहुन्छ। उहाँले स्विस सरकारसँग आबद्ध रहेर पूर्वी नेपालका विभिन्न क्षेत्रमा पुल निर्माण तथा पूर्वाधार विकासका काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
विशेषगरी पुलको डिजाइन तथा निर्माणसम्बन्धी प्राविधिक क्षेत्रमा अनुभव हासिल गर्नुभएका चौधरीले आफ्नो व्यावसायिक दक्षतासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको बताइन्छ।
नगर सचिवको जिम्मेवारी पाएपछि चौधरीले अब आफ्नो राजनीतिक यात्रालाई संगठन निर्माण र सुदृढीकरणमा केन्द्रित गर्ने बताउनुभएको छ। उहाँले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनतासँग जोड्ने आफ्नो प्राथमिकता रहेको प्रतिक्रिया दिनुभएको छ।
“अबको मेरो यात्रा नेपाली कांग्रेसको राजनीतिसँगै अगाडि बढ्नेछ। संगठन निर्माण र सुदृढीकरणलाई मूल लक्ष्य बनाएर जिम्मेवारी निर्वाह गर्नेछु,” चौधरीको भनाइ छ।
प्राविधिक क्षेत्रको लामो अनुभव, सामाजिक गतिविधिमा सक्रियता र पार्टी संगठनमा निरन्तरको संलग्नतालाई आधार बनाउँदै चौधरीलाई नगर सचिवको जिम्मेवारी दिइएको हो। नगर नेतृत्वमा उहाँको प्रवेशसँगै प्राविधिक तथा सामाजिक क्षेत्रको अनुभवलाई पार्टी संगठनसँग जोड्ने अपेक्षा गरिएको छ।
नगर सचिवको जिम्मेवारी सम्हालेका चौधरीले पार्टीको नीति, विचार र संगठनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्दै कार्यकर्ताबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिने बताउनुभएको छ।






