
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारका व्यवसायी छट्टु शाह ‘भुसवाला’ विरुद्ध १३ वर्षीया बालिकामाथि श्रम शोषण तथा जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार शाहविरुद्ध मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको भए पनि शाह हालसम्म सम्पर्कमा नआएको बताइएको छ।
प्रहरीमा परेको जाहेरीमा शाहले आफ्नै घरमा कामदारका रूपमा राखेकी १३ वर्षीया बालिकामाथि पटक–पटक जबर्जस्ती करणीको प्रयास गरेको आरोप लगाइएको छ। बालिकालाई उमेरअनुसारको कानुनी संरक्षण र अधिकारबाट वञ्चित गर्दै घरायसी काममा लगाएको आरोपसमेत उनीमाथि लगाइएको प्रहरी स्रोतले जनाएको छ।
घटना करिब एक महिनाअघिको भए पनि शाहलाई पक्राउ गर्न प्रहरीले पछिल्लो एक सातादेखि अदालतबाट पक्राउ पुर्जी लिएको स्रोतको भनाइ छ। पक्राउ पुर्जी जारी भएको सूचना पाएपछि उनी फरार भएको प्रहरी स्रोतले जनाएको छ।
शाह मोरङको हात्तीमुढा लगायतका क्षेत्रमा समेत व्यवसाय गर्दै आएको बताइएको छ। घटनासम्बन्धी जाहेरी र अनुसन्धानका क्रममा प्रहरीले पीडित बालिकासहित सम्बन्धित पक्षसँग आवश्यक सोधपुछ तथा प्रमाण संकलनको प्रक्रिया अघि बढाएको जनाएको छ।
यसैबीच, बालिकामाथि भएको भनिएको घटनाको निष्पक्ष अनुसन्धान गरी आरोप पुष्टि भएमा कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग स्थानीयवासी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले गरेका छन्। उनीहरूले बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा, यौन दुर्व्यवहार तथा श्रम शोषणलाई गम्भीर रूपमा लिएर अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङसँग थप विवरण तथा शाहको पक्राउ अवस्थाबारे सम्पर्क गर्ने प्रयास भइरहेको छ।





