इटहरी — इटहरी उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर भवेन्द्र चौधरीमाथि कार्यालयमै महिला प्राविधिक कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेको छ। कुटपिटबाट घाइते भएकी कर्मचारी एलिना अधिकारी उपचारपछि डिस्चार्ज भइसकेकी छन् भने घटनामा उजुरी परेपछि प्रहरीले चौधरीको खोजी गरिरहेको जनाएको छ।

अधिकारीका अनुसार कार्यसम्पादनसम्बन्धी विषयलाई लिएर आफू र इन्जिनियर चौधरीबीच केही समयदेखि विवाद हुँदै आएको थियो। विवादकै क्रममा चौधरीले इटहरी–९ स्थित वडा कार्यालयमा रहेको आफ्नो कार्यकक्षमै आफूलाई कुटपिट गरेको उनको आरोप छ।

घटनापछि घाइते अधिकारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। दुई दिनको उपचारपछि डिस्चार्ज भएकी उनले कानुनी कारबाहीको माग गर्दै भदौ २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन्।

प्रहरीले उक्त उजुरीका आधारमा अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीबाट असोज ५ गते चौधरीलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अनुमति प्राप्त भएको प्रहरीको भनाइ छ।

तर आफूविरुद्ध उजुरी परेको जानकारी पाएपछि चौधरी सम्पर्कविहीन भएको र हाल फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ।

इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापाले कार्यालय समयमै कार्यसम्पादनको विषयलाई लिएर विवाद हुँदा इन्जिनियर चौधरीले महिला प्राविधिक कर्मचारीमाथि कुटपिट गरेको जानकारी आफूले पाएको बताए। यद्यपि, घटना भएको समयमा आफू कार्यालयमा उपस्थित नरहेको उनले स्पष्ट पारे।

इटहरी उपमहानगरपालिकाको योजना शाखा प्रमुख जीवन घिमिरेले पनि घटनाबारे आफूले बाहिरबाट जानकारी पाएको बताए। उनले घटनाको विस्तृत विवरण आफूलाई जानकारी नभएको बताए।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश तिम्सिनाले योजना शाखाका इन्जिनियर चौधरी केही समयदेखि बिदामा रहेको जानकारी दिए। कार्यालयमै कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको भनिएको घटना उचित नभएको उनको भनाइ छ।

तिम्सिनाका अनुसार पीडित कर्मचारीले प्रहरीमा उजुरी दिइसकेकी छन् र प्रहरीले कानुनी प्रक्रिया अघि बढाइसकेको छ। घटनाको अनुसन्धानबाट तथ्य पुष्टि भएपछि उपमहानगरपालिकाले पनि प्रचलित कानुन तथा कर्मचारीसम्बन्धी व्यवस्थाअनुसार चौधरीमाथि विभागीय कारबाहीबारे निर्णय गर्नेछ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। आरोप पुष्टि हुन बाँकी रहेकाले इन्जिनियर चौधरीमाथि लागेको कुटपिटको आरोपलाई अनुसन्धान तथा कानुनी प्रक्रियाको निष्कर्षसँगै हेर्नुपर्ने हुन्छ।

तपाईको प्रतिक्रिया