इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका नगर सभापतिका दावेदारका रूपमा चर्चामा रहेका युवा नेता कोविदजंग कार्कीले सामाजिक सञ्जालमा लेखेको पछिल्लो स्टाटसले इटहरी कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ चर्चा जन्माएको छ।
कार्कीले ‘पद र प्रतिष्ठा क्षणिक हुन्, तर आत्म सम्मान जीवनभरको सम्पत्ति हो’ भन्दै आफूलाई पदभन्दा आत्मसम्मान, प्रतिष्ठाभन्दा इमानदारी र स्वार्थभन्दा सत्य तथा जनताको विश्वास महत्वपूर्ण रहेको बताएका छन्। उनले पदका लागि विचार र सिद्धान्तसँग सम्झौता गर्नुभन्दा पदबाहिर रहेर पनि शिर ठाडो पारेर हिँड्न सक्नु आफ्नो रोजाइ भएको उल्लेख गरेका छन्।
उनको यो अभिव्यक्तिलाई कतिपय कांग्रेस कार्यकर्ताले नगर सभापतिको उम्मेदवारीबाट पछि हट्ने संकेतका रूपमा व्याख्या गर्न थालेका छन्। यद्यपि, कार्कीले आफ्नो स्टाटसमा उम्मेदवारी फिर्ता लिएको औपचारिक घोषणा भने गरेका छैनन्। त्यसैले उनको अन्तिम राजनीतिक निर्णयबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था छैन।
यसअघि भदौ २३ गते कार्कीले नेपाली कांग्रेस इटहरी नगर सभापतिमा उम्मेदवारी घोषणा गर्दै पाँचबुँदे एजेन्डासमेत सार्वजनिक गरेका थिए। उनले आन्तरिक लोकतन्त्र र एकता, गुट–उपगुटभन्दा माथि उठेर संगठन सञ्चालन, जनतासँग प्रत्यक्ष सम्बन्ध तथा पार्टीभित्र पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्ने बताएका थिए।
कार्की इटहरी कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय नेताका रूपमा चिनिन्छन्। २०७८ को नगर अधिवेशनमा उनी उपसभापतिमा निर्वाचित भएका थिए। हेमकर्ण पौडेल स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि नगर सभापतिको जिम्मेवारीबाट बाहिरिँदा कार्कीले कार्यवाहक सभापतिको भूमिकासमेत निर्वाह गरेका थिए।
यता कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको छ। पार्टीको परिमार्जित निर्वाचन कार्यतालिकाअनुसार गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो।
इटहरी कांग्रेसमा वडा अधिवेशनकै क्रममा केही स्थानमा नेतृत्व चयनको प्रक्रिया, सर्वसम्मति र निर्वाचन प्रक्रियालाई लिएर विवाद तथा असन्तुष्टि समेत  देखिएको छ।
यस्तो अवस्थामा कार्कीको पछिल्लो अभिव्यक्तिले उम्मेदवारीभन्दा राजनीतिक मूल्य, आत्मसम्मान र सिद्धान्तलाई प्राथमिकता दिने उनको सन्देशलाई अगाडि ल्याएको छ। तर उनी सभापतिको प्रतिस्पर्धाबाट औपचारिक रूपमा बाहिरिने वा अन्तिम समयसम्म उम्मेदवारी कायम राख्ने भन्ने विषय भने उनको आगामी निर्णयमा निर्भर हुनेछ।
इटहरी कांग्रेसमा कार्कीलाई संगठनमा सक्रिय, जुझारु र निष्ठावान युवा नेताका रूपमा हेर्ने कार्यकर्ताको एउटा धारणा छ। अब उनको निर्णयले नगर कांग्रेसको नेतृत्व चयनको समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको विषय बनेको छ।

तपाईको प्रतिक्रिया