सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएको निष्कर्षसहित तत्कालीन सीडीओसहित पाँच जना सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।
घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले करिब एक महिना अघि गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाए पनि त्यसको कार्यान्वयन भने अझै भएको छैन।
गत साउन १० गते दुई समुदायबीचको विवादले उग्र रूप लिएपछि कप्तानगञ्जमा झडप भएको थियो। झडपका क्रममा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भएको थियो। छानबिन समितिले तीनै जनाको मृत्यु सुरक्षाकर्मीले चलाएको गोली लागेर भएको निष्कर्ष निकालेको छ।
समितिले घटनाको सुरक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन प्रहरी निरीक्षक राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का तथा सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
छानबिनका क्रममा कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी कुल २० राउण्ड गोली चलेको देखिएको छ। झडप नियन्त्रणका लागि खटिएका प्रहरी निरीक्षक राकेश राईले गोली चलाएको र त्यसपछि सशस्त्र प्रहरीले समेत गोली चलाउँदा मानवीय क्षति भएको समितिको निष्कर्ष छ।
घटनास्थलमा रहेका सुरक्षाकर्मीमाथि स्थानीयले चिर्पट, ढुंगा, बाँस तथा लाठीबाट आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
यस घटनापछि सुरक्षा व्यवस्थापन, भिड नियन्त्रणमा सुरक्षाकर्मीले अपनाएको बल प्रयोगको विधि तथा गोली चलाउने निर्णयमाथि समेत प्रश्न उठेको थियो।
यसैबीच, सुनसरीको घटनासँगै जोडिएको सिरहाको गोलबजार घटनामा पनि एक जनाको मृत्यु भएको थियो। दुवै घटनाको छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाइए पनि हालसम्म सार्वजनिक गरिएको छैन। मन्त्रालयले प्रतिवेदन अध्ययनकै क्रममा रहेको जनाएको छ

तपाईको प्रतिक्रिया