इटहरी । भगवान शिवको आराधनाका लागि विशेष मानिने साउन महिनाको पहिलो सोमबार आज सुनसरीका शिवालयहरू भक्तजनले भरिभराउ बनेका छन्। हिन्दु धर्मावलम्बीहरूले भगवान शिवलाई सृष्टिको संहारकर्ता मात्र नभई करुणा, त्याग, तपस्या र कल्याणका देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्पराअनुसार बिहानैदेखि शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको हो।
सुनसरीको प्रसिद्ध शक्तिपीठ पिण्डेश्वर ,चतरा धाम, इनरुवा, खनार, दुहबी, इटहरी तथा जिल्लाका अन्य शिव मन्दिरमा श्रद्धालुहरूले पवित्र जल, दूध, बेलपत्र, धतुरो र फूल अर्पण गर्दै भगवान शिवको विशेष पूजा–आराधना गरेका छन्। ‘ॐ नमः शिवाय’को जपसँगै शिवलिङ्गमा जलाभिषेक गर्दै भक्तजनहरूले परिवारको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गरेका छन्।
धार्मिक मान्यताअनुसार साउन महिनामा भगवान शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पापबाट मुक्ति मिल्ने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास रहिआएको छ। विशेषगरी साउनका सोमबार व्रत बसेर शिवपूजा गर्ने परम्परा नेपालभरका हिन्दु समुदायमा प्राचीनकालदेखि चलिआएको छ।
भक्तजनको बढ्दो चापलाई मध्यनजर गर्दै मन्दिर व्यवस्थापन समितिहरूले दर्शनको सहज व्यवस्था मिलाएका छन् भने स्थानीय प्रशासन र नेपाल प्रहरीले सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ।
साउन महिनाभर प्रत्येक सोमबार सुनसरीका शिवालयमा यस्तै भक्तिमय वातावरण रहने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया