सुनसरी /हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ । यस अवसरमा सुनसरी जिल्लाका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ।
भगवान् शिव को विशेष पूजा–आराधना गर्दै श्रद्धालुहरू व्रत बसेका छन् । शिवरात्रिको दिन व्रत, उपवास र रात्रि जागरण गरी शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। सोही विश्वासका साथ महिला तथा पुरुष भक्तजन बिहानैदेखि शिव मन्दिर पुगेर जल, बेलपत्र, धतुरा र दूध चढाई पूजा–अर्चना गरिरहेका छन्।
सुनसरीका प्रमुख धार्मिक स्थलहरू धरानस्थित पिण्डेश्वर मन्दिर, चतरा, इनरुवा, इटहरी, खनार तथा दुहवीका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ। विशेषगरी पिण्डेश्वर मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ भने दर्शनार्थीको सहजताका लागि स्थानीय प्रशासन र स्वयंसेवक परिचालन गरिएको छ।
महाशिवरात्रिको अवसरमा धेरै श्रद्धालुले दिनभर उपवास बस्नुका साथै रातभर भजन–कीर्तन र दीप प्रज्वलन गर्ने परम्परा रहेको छ। यस दिन शिव मन्दिरमा दर्शन गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।
जिल्लाभरका शिवालयहरूमा श्रद्धा, भक्ति र आस्थाको माहोल देखिएको छ।

तपाईको प्रतिक्रिया