
सुनसरी — नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सुनसरीले इटहरी उपमहानगरपालिका–१७ का वडाध्यक्ष प्रभात आचार्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। पार्टीका आधिकारिक निर्णयविरुद्ध गतिविधि गरेको, पटक–पटक सचेत गराउँदा पनि नसुध्रिएको र दुई पटक सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै पार्टी विधानअनुसार सदस्यता खारेज गरिएको एमालेले जनाएको छ।
जिल्ला अध्यक्ष पशुपति यादवद्वारा हस्ताक्षरित पत्रमा आचार्य जिल्ला कमिटी सदस्य तथा निर्वाचित वडाध्यक्षको भूमिकामा रहँदै पार्टी नीति र नेतृत्वविरुद्ध लागेको ठहर गरिएको उल्लेख छ। निर्णयको जानकारी कोशी प्रदेश कमिटी, जिल्ला संगठन विभाग तथा इटहरी उपमहानगर कमिटीलाई समेत गराइएको छ।
यसबीच, वडाध्यक्ष आचार्यका छोरा इनजियर आदित्य आचार्यले राष्ट्रिय निर्माण दलबाट सुनसरी–२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेपछि एमाले सुनसरी रुष्ट बनेको स्रोतको दाबी छ। छोराको उम्मेदवारीलाई पार्टी अनुशासनविपरीत गतिविधिसँग जोडेर हेरेको एमालेका नेताहरू बताउँछन्।
यता वडाध्यक्ष आचार्यले भने आफूविरुद्ध पूर्वाग्रह राखेर कारबाही गरिएको आरोप लगाएका छन्। “लोकतन्त्रमा प्रत्येक नागरिकलाई आफ्नो राजनीतिक अधिकार प्रयोग गर्ने स्वतन्त्रता हुन्छ। छोराले उम्मेदवारी दिनु उसको व्यक्तिगत निर्णय हो,” उनले प्रतिक्रिया दिएका छन्। उनले यस कदमलाई “लोकतन्त्रमाथिको खुल्लमखुल्ला उपहास” को संज्ञा दिएका छन्।
आचार्यले आफ्नो पारिवारिक पृष्ठभूमि स्मरण गर्दै खम्पा विद्रोह दबाउन आफ्ना पिता विद्याप्रसाद आचार्यले तत्कालीन बडा हाकिमका रूपमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। “देश र व्यवस्थाका लागि योगदान गरेको परिवारमाथि यस्तो व्यवहार हुनु दुःखद छ,” उनको भनाइ छ।





