इटहरी, सुनसरी — खनारस्थित बुढीखोला झरना क्षेत्रलाई व्यवस्थित आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विषयमा संघीय पर्यटन सचिव श्री मुकुन्द निरौलाबाट सकारात्मक प्रतिबद्धता प्राप्त भएको छ। सचिव निरौलासँग आज उहाँकै कार्यकक्षमा भएको भेटघाटका क्रममा बुढीखोला झरनाको विशेष अनुगमन गरी आवश्यक भौतिक पूर्वाधार योजनाबारे यसै हप्ता स्थलगत निरीक्षण गर्ने आश्वासन दिइएको हो।
सामाजिक सञ्जालमा भाइरल भएसँगै पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको इटहरी उपमहानगरपालिका–११ स्थित बुढी झरना (बुढीखोला झरना) लाई दीर्घकालीन रूपमा सुरक्षित, स्वच्छ र व्यवस्थित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय तहले समेत पहल तीव्र बनाएको छ।
यसै सन्दर्भमा इटहरी उपमहानगरपालिका–१२ का वडाध्यक्ष भुवन पोखरेलले बुढीखोला झरनाको दीर्घकालीन विकासका लागि स्पष्ट योजना निर्माण गर्न संघीय तहसँग आग्रह गर्नुभएको छ। उहाँले झरना क्षेत्रको पहुँच मार्ग, सुरक्षात्मक संरचना, अवलोकन स्थल, सरसफाइ व्यवस्थापन, सूचना बोर्ड, विश्रामस्थल लगायतका आधारभूत पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
खनारबासीले यस पहललाई ‘ऐतिहासिक सफलता’को रूपमा लिएका छन्। स्थानीय सरोकारवालाका अनुसार संघीय पर्यटन सचिव स्वयं स्थलगत निरीक्षणमा आउने प्रतिबद्धताले बुढीखोला झरनालाई औपचारिक रूपमा पर्यटन नक्सामा स्थापित गर्ने विश्वास बढेको छ।
स्थानीयवासी, पर्यटन अभियन्ता तथा जनप्रतिनिधिहरूको संयुक्त प्रयासले बुढीखोला झरना अब सामाजिक सञ्जालको चर्चामात्र नभई योजनाबद्ध पर्यटकीय गन्तव्यका रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया