सुनसरी । नेपाली कांग्रेसले सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा एकैपटक दुई उम्मेदवारलाई टिकट दिएको खुलासा भएपछि पार्टीभित्र गम्भीर अन्योल र विवाद उत्पन्न भएको छ। पार्टी सभापति गगनकुमार थापाको हस्ताक्षर र आधिकारिक छापसहित विजयकुमार गच्छदार र वेदनारायण गच्छदार दुवैलाई टिकट प्रदान गरिएको पुष्टि भएको हो।
यसअघि देउवानिकट नेता विजयकुमार गच्छदारलाई उम्मेदवार बनाइएको बताइए पनि पछिल्लो पटक वेदनारायण गच्छदारलाई समेत टिकट दिइएको कागजात सार्वजनिक भएपछि सुनसरी कांग्रेसमा को आधिकारिक उम्मेदवार भन्ने विषय पेचिलो बनेको छ।
प्राप्त जानकारीअनुसार विजयकुमार गच्छदार मनोनयन दर्ताका लागि काठमाडौंबाट जहाजमार्फत सुनसरीतर्फ प्रस्थान गरिसकेका छन् भने वेदनारायण गच्छदार पनि मनोनयन दर्ताको तयारीमा घरमै बसेका छन्। दुवै पक्षले आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गरिरहेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले केन्द्रबाट कुनै औपचारिक जानकारी नआएकाले अन्योल कायमै रहेको बताएका छन्।
उनले  भने,
“को आधिकारिक उम्मेदवार भन्नेबारे केन्द्रले हामीलाई अहिलेसम्म केही पनि जानकारी दिएको छैन। म अहिले भिडमा छु, बुझेर पछि जानकारी दिन्छु।”
एकै निर्वाचन क्षेत्रमा एकै पार्टीबाट दुई जनालाई टिकट दिनु कांग्रेसको आन्तरिक निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ। स्थानीय कार्यकर्ता र मतदातामा समेत भ्रम र असन्तोष देखिन थालेको छ।
अब पार्टी केन्द्रीय नेतृत्वले छिटो निर्णय नगरे सुनसरी–३ मा कांग्रेसको चुनावी रणनीतिमा ठूलो क्षति पुग्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया