- सुशील शाह | युवा समाजसेवी
विश्लेषक : सुशील शाह
विश्लेषक : सुशील शाह

देशको अर्थतन्त्र सुदृढ बनाउन ठूला योजना मात्र होइन, साना तर अत्यधिक प्रभाव पार्ने विषयहरूमा गहिरो अध्ययन र परामर्श आवश्यक देखिन्छ। पछिल्ला वर्षहरूमा हाम्रो कार्यसम्पादन क्षमता खस्किँदै गएको छ — यसको एउटा कारण चाहिनेभन्दा बढी सिटी सफारी, मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोग पनि हो। यसले प्रत्यक्ष रूपमा आम्दानी, उत्पादकत्व र ट्याक्सेसन प्रणालीलाई असर गरिरहेको छ।
एक समय सिटी सफारी चालकले दिनभरिमा १०००–१५०० रुपैयाँसम्म कमाइ गर्ने अवस्था थियो। तर आज सहर–सहरमा सिटी सफारीको अत्यधिक चापका कारण त्यो आम्दानी दिनानुदिन घट्दै गएको छ। बजारमा सिटी सफारीको बिक्री बढेसँगै अब ‘भाग्य’ मा निर्भर अवस्था सिर्जना भएको छ — कसैले दिनभर यात्रु पाउँछ, कसैले पाउँदैन। हिजो जस्तो सबैको आम्दानी समान हुने अवस्था अब छैन।
यस विषयलाई उठाउँदा मेरो उद्देश्य कसैको रोजीरोटीमा चोट पुर्‍याउने होइन। म सधैं श्रमजीवीको पक्षमा उभिने व्यक्ति हुँ। तर सिटी सफारी चालकहरूसँगको प्रत्यक्ष संवादबाट बुझिएको यथार्थ के हो भने, अत्यधिक प्रतिस्पर्धाले उनीहरूको जीवन झन् अस्थिर बनाएको छ। यसको असर ठेला–रिक्सा चालक बेरोजगार हुनुबाट लिएर अन्य सार्वजनिक यातायात साधनसम्म स्पष्ट देख्न सकिन्छ।
महत्त्वपूर्ण कुरा के छ भने, सिटी सफारी चालकहरूमध्ये धेरैजसो होनहार, अनुभवी र सीपयुक्त व्यक्ति हुन्। ५–१० वर्ष विदेशमा राम्रा कम्पनीमा काम गरेका, होटल, लरी, सेल्स, व्यापार लगायत विभिन्न क्षेत्रमा दक्ष जनशक्ति आज स्वदेशमै बसेर परिवारसँग जीवनयापन गर्ने चाहनामा छन्। तत्काल खर्च टार्नका लागि सिटी सफारी चलाइरहेका उनीहरूको सीप र क्षमतालाई आज सही दिशामा परिचालन गर्न सकियो भने, अन्य थुप्रै क्षेत्र चलायमान बन्न सक्छन्।
आज उद्योग, कार्यालय, सोरुम, बिक्री–वितरण, कृषि र साना व्यवसायमा जनशक्तिको अभाव देखिन्छ। यदि यही समूहलाई ती क्षेत्रमा आकर्षित र व्यवस्थापन गर्न सकियो भने रोजगारी मात्र होइन, उत्पादन र राष्ट्रिय आम्दानी समेत बढ्ने प्रबल सम्भावना छ।
अर्को गम्भीर पक्ष लगानीको हो। एउटा सिटी सफारीको मूल्य झण्डै २–४ लाख रुपैयाँ पर्छ। हरेक गाउँ र सहरमा यसको बाक्लो उपस्थितिले ठूलो परिमाणको पूँजी एउटै क्षेत्रमा थुप्रिएको छ। यसले अन्य व्यवसायहरूमा प्रत्यक्ष असर परेको हुनसक्छ। सिटी सफारीमा लगानी गरेका उपभोक्ताले साँच्चै अपेक्षित लाभ पाएका छन् कि छैनन् भन्ने विषय गम्भीर समीक्षा योग्य छ।
हरेक व्यवसायका न्यूनतम मापदण्ड र सीमा हुन्छन्। जस्तै— एउटा पेट्रोलपम्पको नजिक अर्को पेट्रोलपम्प खोल्न नपाइने नियम, अस्पताल, सिमेन्ट, रड, औषधि उद्योग, निजी एयरपोर्टजस्ता क्षेत्रहरूमा वर्गीकरण र मापदण्ड अनिवार्य छन्। तर सिटी सफारीजस्तो प्रत्यक्ष रोजगारी र अर्थतन्त्रसँग जोडिएको क्षेत्रमा यस्तो नियमन लगभग शून्य देखिन्छ। आज ती नियमहरूको पुनःस्थापना समयको माग हो।
हामी अर्काको देखासिकी गर्ने बानीमा अल्झिँदा आफ्नो मौलिक क्षमता र उद्देश्य ओझेलमा परिरहेको छ। सिटी सफारी समस्या केवल यातायातको होइन, यो रोजगारी व्यवस्थापन, लगानी सन्तुलन र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषय हो।
अब आवश्यकता छ— भावनामा होइन, तथ्य र दूरदृष्टिमा आधारित निर्णयको। साना विषयमा केन्द्रित भई सुधार गर्न सके देशको अर्थतन्त्र मजबुत बन्न सक्छ।

तपाईको प्रतिक्रिया