काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई केन्द्रमा राख्दै मुलुकमा वैकल्पिक राजनीतिले नयाँ गति लिने संकेत देखिएको छ। जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक चेतना र असन्तुष्टिले परम्परागत दलहरूलाई चुनौती दिने नयाँ शक्तिको सम्भावनालाई थप प्रस्ट बनाएको विश्लेषण गरिएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो र दोस्रो दलका रूपमा स्थापित नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकारप्रति बढ्दो असन्तुष्टिका बीच जेन–जी आन्दोलन एक निर्णायक मोड बनेको थियो। त्यसयता वैकल्पिक राजनीतिको ‘रंगोली’ अझ गाढा हुँदै गएको छ। निर्वाचन आयोगले आगामी निर्वाचनका कार्यतालिका सार्वजनिक गरेसँगै राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ भने फागुन २१ गते तय निर्वाचन मिति नजिकिँदै जाँदा बालेन वैकल्पिक राजनीतिका केन्द्रबिन्दुका रूपमा उभिन थालेका छन्।
मौन तर निर्णायक नेतृत्व
परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैली अपनाउँदै आएका बालेन मौन बसेर निर्णायक क्षणमा कदम चाल्ने नेताका रूपमा चिनिन्छन्। निर्वाचित भएदेखि नै औपचारिक कार्यक्रम, माला र नियमित अन्तर्वार्ताबाट टाढा रहेका उनी सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने धारणा र स्ट्याटसका कारण बेला–बेला चर्चामा रहने गरेका छन्।
जेन–जी आन्दोलनका क्रममा उनले व्यक्त गरेका अभिव्यक्ति र स्ट्याटसले आन्दोलनलाई थप ऊर्जा दिएको समर्थकहरूको दाबी छ। आन्दोलनकै समयमा सिंहदरबार आगलागी प्रकरणसँग उनको नाम जोडिँदा विवाद पनि उत्पन्न भयो। आन्दोलनपछिको अवस्था व्यवस्थापन र अन्तरिम सरकारको नेतृत्वका लागि पटक–पटक प्रस्ताव आए पनि बालेनले मौनता तोडेनन्। सोही मौनताबीच उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्न सक्ने सङ्केत दिएका थिए, जसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको थियो।
प्रधानमन्त्री बन्ने सम्भावनाको चर्चा
जेन–जी आन्दोलनदेखि अन्तरिम सरकार गठनसम्म निर्णायक भूमिकामा देखिएका बालेन अब आगामी राजनीतिमा आफूलाई अझ स्पष्ट रूपमा अघि सार्ने तयारीमा रहेको संकेत देखिएको छ। पछिल्ला दिनहरूमा उनले विभिन्न राजनीतिक दलका नेता, अभियन्ता, प्रशासक तथा प्रभावशाली व्यक्तिसँग खुला भेटघाट गरिरहेका छन्।
वैकल्पिक राजनीतिका नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङलगायतसँग भएको भेटवार्तालाई राजनीतिक सहकार्यतर्फको पहलका रूपमा हेरिएको छ। साथै, जेन–जी आन्दोलनकी अभियन्ता रक्षा बमसहित आन्दोलनका नेताहरूलाई साझा नेतृत्वमा आउन सन्देश दिएको बताइन्छ।
असन्तुष्ट नेताहरूको आकर्षण
जेन–जी आन्दोलनको भावना सम्बोधन गर्न नसकेको आरोप खेपिरहेको नेकपा एमालेभित्रका केही असन्तुष्ट समूह बालेन केन्द्रित वैकल्पिक राजनीतितर्फ आकर्षित भएको देखिन्छ। यस्तै, नेपाली काँग्रेसभित्र नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका केही नेताहरू पनि बालेन नेतृत्वको अभियानमा जोडिन इच्छुक रहेको उनको सचिवालयको दाबी छ।
यदि वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिन नसके बालेनले ‘लौरो’ चुनाव चिह्न बोकेको देश विकास पार्टीमार्फत निर्वाचनमा जाने विकल्पसमेत खुला राखेको संकेत विश्लेषकहरूले गरेका छन्।
नयाँ मोडतर्फ राजनीति
धनगढीका मेयर गोपी हमालदेखि धरानका मेयर हर्क साम्पाङसम्म, कलाकार, प्रशासक, सामाजिक अभियन्ता, कन्टेन्ट क्रिएटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसम्मलाई समेट्न सक्ने क्षमताका कारण बालेनलाई साझा वैकल्पिक नेतृत्वका रूपमा अघि सार्ने प्रयास तीव्र बन्दै गएको छ।
विश्लेषकहरूका अनुसार सम्भव भए साझा वैकल्पिक मोर्चा, नभए एकल राजनीतिक यात्रामार्फत निर्वाचनमा होमिने रणनीतिसहित बालेन अघि बढिरहेका छन्। यससँगै आगामी निर्वाचन केन्द्रित राजनीतिले नयाँ मोड लिने स्पष्ट संकेत देखिएको निष्कर्ष निकालिएको छ





