विराटनगर । विराटनगरका तारे होटलभित्र सञ्चालनमा रहेका क्यासिनोहरू विदेशी पर्यटक आकर्षित गर्ने थलोभन्दा पनि नेपाली नागरिक, युवा व्यवसायी र विद्यार्थीलाई आर्थिक रूपमा कंगाल बनाउने अखडा बनेको तथ्य सार्वजनिक भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र मोरङ प्रहरी प्रमुख एसपी कोवित कटुवालको नेतृत्वमा आइतबार गरिएको संयुक्त छापापछि यस्तो वास्तविकता उजागर भएको हो। उक्त छापाले क्यासिनो सञ्चालक, स्थानीय बिचौलिया र प्रहरीका केही अधिकारीबीचको सम्भावित ‘सेटिङ’ समेत सतहमा ल्याएको छ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको विशेष निर्देशनमा गरिएको छापामा २० जना नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा क्यासिनोका उच्च तहका कर्मचारीदेखि ‘जेनजी अभियन्ता’ र शैक्षिक संस्थाका जिम्मेवार व्यक्तिसम्म रहेका छन्।
भारतीय आधार कार्डको दुरुपयोग
छापाका क्रममा क्यासिनो प्रवेश गर्न नेपालीहरूले भारतीय नागरिकको नक्कली ‘आधार कार्ड’ प्रयोग गर्ने गरेको खुलेको छ। सहायक सिडिओ कोइरालाका अनुसार, “विराटनगरका अधिकांश क्यासिनो खेलाडीहरूले भारतीय आधार कार्ड बनाएका छन्। यसपटक आधार कार्ड मात्र नमान्दै एटीएम कार्ड, लाइसेन्स र अन्य परिचयपत्रको ‘डबल भेरिफिकेसन’ गर्दा उनीहरू नेपाली भएको पुष्टि भयो।”
क्यासिनोको लतले परिवार तहसनहस
क्यासिनोको लतले विराटनगरका ठूला व्यापारिक घरानाका युवाहरू समेत टाट पल्टिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ। पीडित परिवारका सदस्यहरू पटक–पटक प्रशासनमा आएर ‘घरबार सकियो, छोरा र श्रीमान् क्यासिनोको लतमा फसे’ भन्दै गुनासो गर्ने गरेको कोइरालाले बताए।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाका अनुसार औद्योगिक घरानाका धेरै युवाहरू नियमित रूपमा क्यासिनो जाने र ठूलो रकम गुमाउने गरेका छन्। मारवाडी समुदायका एक अगुवाले भने, “प्रहरीको कडाइ नहुँदा हाम्रा छोराछोरी र युवा व्यवसायीहरू बर्बाद भए, व्यापार चौपट भयो।”
नियमविपरीत ‘लाइभ गेम’
क्यासिनो नियमावली, २०७० अनुसार क्यासिनोमा आधुनिक स्वचालित मेसिनबाट मात्र खेल सञ्चालन गर्नुपर्ने व्यवस्था छ। तर विराटनगरका क्यासिनोहरूले नियमको उल्लंघन गर्दै हातैले तास र कौडा खेलाइरहेको सुरक्षा स्रोतको दाबी छ।
‘सुशासन’को आवाज उठाउने, राति जुवाको खालमा
छापाका क्रममा पक्राउ परेका एक ‘जेनजी अभियन्ता’को उपस्थितिले झनै आश्चर्य जन्माएको छ। प्रशासनका अनुसार ती अभियन्ता दिउँसो प्रशासन कार्यालयमा आएर ‘सुशासन भएन’ भन्दै विरोध जनाउने, तर राति क्यासिनोको पे–कार्ड बोकेर जुवाको खालमा भेटिएका थिए।
सञ्चालक र लगानीकर्तामाथि अनुसन्धान
हाल पक्राउ परेका सबैमाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ। क्यासिनो सञ्चालक को हुन्, लगानीकर्ता कस–कसको संलग्नता छ र दर्ता तथा नवीकरणको अवस्था के छ भन्ने विषयमा कम्पनी रजिस्ट्रार कार्यालयसँग कागजात मागेर अनुसन्धान भइरहेको सहायक सिडिओ कोइरालाले जानकारी दिए।
प्रशासनले अब नक्कली भारतीय बनेर क्यासिनो छिर्ने नेपाली मात्र होइन, उनीहरूलाई प्रवेश दिने होटल र क्यासिनो सञ्चालकहरूमाथि पनि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
“प्रशासन जुनसुकै बेला फिल्डमा आउन सक्छ भन्ने कडा सन्देश दिन खोजिएको प्रशासनले बताएको छ   !                                 क्यासिनो छापामा पक्राउ परेका नेपालीहरू (नामसहित)
क) बिग होटलस्थित क्यासिनोबाट पक्राउ परेकाहरू
रामकृष्ण गौतम (४५)
काभ्रे, बनेपा–११
(क्यासिनोको डाइरेक्टर दाबी, कुनै आधिकारिक कार्ड नभएको)
हरि भट्ट (५३)
बैतडी, दशरथचन्द नपा–८
(डाइरेक्टर दाबी, परिचयपत्र नभएको)
सुरेन्द्रबहादुर चन्द (४१)
बैतडी, दशरथचन्द नपा–५
(क्यासिनो स्टाफ दाबी, कार्ड नभएको)
खेम श्रेष्ठ (५५)
मोरङ, विराटनगर महानगरपालिका–६
(क्यासिनो सेक्युरिटी इन्चार्ज, परिचयपत्र भएको)
मेदनी शिवाकोटी (४५)
झापा, बिर्तामोड नपा–२
(क्यासिनो स्टाफ, कार्ड भएको)
साजन साह (३६)
मोरङ, विराटनगर महानगरपालिका–८
ख) रत्ना होटलस्थित क्यासिनोबाट पक्राउ परेकाहरू
लोकेन्द्रबहादुर बस्नेत (४३)
सोलुखुम्बु लिखुपिके–६, हाल विराटनगर–११
(क्यासिनो सञ्चालक)
रोशन गिरी (४०)
झापा, मेचीनगर–७, हाल विराटनगर–६
(डान्स सञ्चालक दाबी, लाइसेन्स/आईडी नभएको)
कृष्णकुमार कुर्मी (२६)
विराटनगर–१
(डान्सर दाबी, आईडी नभएको)
बबिककुमार मण्डल (२४)
विराटनगर–१
(डान्सर दाबी, आईडी नभएको)
राज लामा (३१)
काठमाडौँ–१५, हाल विराटनगर–५
(डान्सर दाबी, आईडी नभएको)
रुपेश दाहाल (२७)
सुनसरी, इटहरी उपमहानगरपालिका–५
(डान्सर दाबी, आईडी नभएको)
आदेश विक (२३)
मोरङ, सुन्दरहरैंचा–४
(डान्सर दाबी, आईडी नभएको)
महम्मद जाकिर हुसेन (४२)
मोरङ, बुढीगंगा–२
तेजराज गिरी (४५)
विराटनगर–१
घनश्याम शर्मा (५५)
झापा, दमक–४
सुरज राय (२६)
मोरङ, कटहरी–४
सन्तोष बस्नेत (३८)
उदयपुर, चौदण्डी–५
प्रमोद घिमिरे (२९)
सुनसरी, इटहरी–८
पवन गोस्वामी (३९)
विराटनगर–७

तपाईको प्रतिक्रिया