इटहरी /एमालेको आसन्न महाधिवेशनलाई लक्षित गर्दै उपाध्यक्षमा दाबी पेश गर्ने तयारीमा रहेका पार्टीका चर्चित नेता भीम आचार्यको राजनीतिक यात्रा ठूलो धक्कासँग अघि बढेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको ८ अर्ब ३६ करोडभन्दा बढीको भ्रष्टाचार प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा उनलाई पनि प्रतिवादी बनाइएपछि उनको भविष्य अनिश्चित बनेको छ।

मुद्दा दर्तासँगै राजनीतिक भविष्य अन्योलमा

विशेष अदालतमा दायर मुद्दामा आचार्यसहित ५५ जना प्रतिवादी छन्। सार्वजनिक पदमा रहेकाहरूमाथि अभियोग दर्ता हुनासाथ पद स्वचालित रूपमा निलम्बन हुने कानुनी व्यवस्था भएकाले अब आचार्यको उम्मेदवारी दर्ता गर्ने बाटो नै बन्द भएको छ।

आचार्य पछिल्लो प्रतिनिधि सभा चुनाव (२०७९) मा सुनसरी–२ बाट सांसद निर्वाचित भएका नेता हुन्। महाधिवेशनमा आफू निकट समूह विस्तार गर्दै उपाध्यक्ष बन्ने तयारीमा उनी सक्रिय थिए।

पार्टीभित्रको उतारचढाव

पार्टी जीवनका धेरै मोडमा प्रभावशाली भूमिकामा रहेका आचार्य नवौँ महाधिवेशनमा सचिव चुनिएका थिए। तर १०औँ महाधिवेशनमा भने पदाधिकारी बन्न नसकेका थिए।
२०७० सालमा पर्यटनमन्त्री बनेका उनी २०६४ देखि लगातार विजयी हुँदै आएका नेता मानिन्छन्। तर २०७४ र २०७९ दुवै निर्वाचनमा पराजित भएका थिए।

नेकपा एकीकरणकालमा उनी चर्चित १० बुँदे समूहमा थिए भने विभाजनपछि कोशी प्रदेशका मुख्यमन्त्री पनि बने। कोशी प्रदेशमा उनका निकट सांसदहरू नेकपा एसमा लाग्दा पनि उनी भने एमालेमै टिके र कोशी प्रदेश इन्चार्जका रूपमा जिम्मेवारी सम्हाले।

सुनसरीमा ‘एकलौटी प्रभाव’

सुनसरी एमालेमा आचार्य लामो समयसम्म सचिव र पछि निर्णायक शक्तिका रूपमा स्थापित रहेका छन्।
यो महाधिवेशनका प्रतिनिधि छनौटमा पनि उनी दबदबा कायम गर्न सफल भएका थिए।
तर यस पटक उनी मध्यमार्गी रूपमा प्रस्तुत हुँदै आएका थिए, जसले केन्द्रमा समेत उनलाई बलियो बनाएको थियो।

झलनाथ खनालसँगको विवाद र मन्त्रीबाट बर्खास्ती

पर्यटनमन्त्री रहेका बेला तत्कालीन अध्यक्ष झलनाथ खनालसँगको ठेक्का विवादले आचार्यलाई सिधै पदबाट बाहिरिएको थियो। खनालका बहिनी ज्वाइँ समेत भएका आचार्यले आफूलाई थाहा नदिई पद हटाइयो भन्ने गुनासो खुलाएकै थिए।

विमानस्थल निर्माणसम्बन्धी ठेक्का खनालले सुझाएका व्यक्तिलाई नदिएको भन्दै पार्टीभित्र आलोचना थियो, जसले आचार्य र खनालबीच दरार झनै बढाएको बताइन्छ।

महाधिवेशन नजिकिँदै गर्दा ठूलो राजनीतिक उचाइको मोहमा रहेका भीम आचार्यका लागि अख्तियारको मुद्दा एउटा महाभारत समान चुनौती बनेको छ। उपाध्यक्ष बन्नुको सपना त दूर, अब पार्टीभित्रको भविष्य नै डगमगाउने मोडमा प्रवेश गरेको देखिन्छ।

 

तपाईको प्रतिक्रिया