काठमाडौँ । सोमबार मध्यरात करिब १२ बजे भक्तपुरस्थित आफ्नै निवासबाट व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। सुतेकै अवस्थामा प्रहरीले घरमै पुगेर प्रक्रिया पूरा गर्दै उनलाई नियन्त्रणमा लिएर काठमाडौँ प्रहरी परिसरमा ल्याएको हो।
प्रसाईंका एक नजिकका सहयोगीका अनुसार, राति अचानक प्रहरीको टोलीले निवासमा प्रवेश गरी पक्राउ प्रक्रिया अघि बढाएको थियो। पक्राउको समयमा खिचिएको एक भिडियो सार्वजनिक भएको छ, जसमा प्रसाईंले आफू गाडी चढ्दै गरेको दृश्य खिच्न कसैलाई निर्देशन दिइरहेको सुनिन्छ।
प्रसाईंले आगामी मङ्सिर ७ गतेबाट सरकारविरुद्ध आन्दोलन सुरू गर्ने घोषणा गरेका थिए। संभावित हिंसा भड्किने आशंका तथा सुरक्षा चुनौतीको मूल्यांकनपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको उच्च स्रोतको दाबी छ।
सुरक्षा निकायका एक अधिकृतले भने, “नियमित प्रक्रिया पूरा गरेर उनलाई काठमाडौँ प्रहरी परिसर ल्याइएको छ। परिस्थिति संवेदनशील भएकाले उच्च सतर्कताका साथ प्रहरी परिचालन गरिएको छ।”
प्रसाईंको भनाइ अनुसार, आन्दोलन कुनै पनि हालतमा नरोकिने बताएका हुन्। तर उनको गिरफ्तारीपछि राजधानीमा पनि सुरक्षा सतर्कता बढाइएको छ।






