इटहरी / नेपाल प्रहरीका नवनियुक्त निरीक्षक जनरल (आईजीपी) दानबहादुर कार्कीले जिम्मेवारी सम्हालेको पहिलो दिनमै प्रहरी कर्मचारीका लागि महत्वपूर्ण सुविधा घोषणा गरेका छन्। अब कार्यालय सहयोगीदेखि वरिष्ठ सई (सहायक निरीक्षक)सम्मका प्रहरी तथा उनका आश्रित परिवारले सहुलियतपूर्ण कर्जाको सुविधा प्राप्त गर्न सक्नेछन्।

आईजीपी कार्कीका अनुसार प्रहरी कल्याण कोषमार्फत स्वास्थ्य, शिक्षा तथा आकस्मिक आवश्यकता पूरा गर्न ५ प्रतिशत ब्याजदरमा दुई लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइनेछ। प्रहरी संगठनभित्र कल्याण र सुरक्षामा जोड दिने उद्देश्यसहित यो योजना ल्याइएको बताइएको छ।

कर्जा प्रक्रियालाई सरल र पारदर्शी बनाइने साथै आवश्यक कागजात पूरा भएपछि तत्काल उपलब्ध गराइने व्यवस्था मिलाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी कर्मचारीको मनोबल वृद्धि र जीवनस्तर सुधारमा यो योजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया