इटहरी   / देशकै ठूलो धागो उत्पादन उद्योगमध्ये एक रिलायन्स स्पिनिङ मिल्स लिमिटेड विद्युत् कटौतीका कारण विगत एक सातादेखि ठप्प भएको छ। उद्योग ठप्प भएपछि करिब ३५ सय बढी कामदार बिदामा परेका छन् भने धागो निर्यात पूर्ण रूपमा रोकिएको छ।
नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ गते ७५ करोड रुपैयाँ बक्यौता नतिरेको भन्दै उद्योगको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट आपूर्ति हुने बिजुली काटेको हो।
रिलायन्सका अनुसार, उद्योगले मासिक करिब ६ करोड रुपैयाँ विद्युत् बिल तिर्दै आएको थियो।
‘हामीमाथि जबर्जस्ती ७५ करोडको बिल थोपरेर उद्योग बन्द गराइएको छ,’
उद्योगका प्रबन्धक महेश पोखरेलले भने,
‘बिजुली नजोडिएसम्म उत्पादन सुरु गर्न सकिँदैन। यसले उद्योग मात्र होइन, हजारौं परिवारको रोजगारी जोखिममा परेको छ।’
🔹 मजदुर युनियनको भनाइ
रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मजदुरहरूको तर्फबाट जारी गरिएको रिलायन्स उद्योगका मजदुर युनियन हरू जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीको ध्यान आकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ! विज्ञप्तिमा भनिएको छ—
> “विद्युत् आपूर्ति कटौतीका कारण ३५ सयभन्दा बढी श्रमिक रोजगारीविहीन अवस्थामा पुगेका छन्।
राज्यको निर्णयले श्रमिक परिवारहरू संकटमा परेका छन्। उद्योग सञ्चालनमा ल्याउन तत्काल पहल गर्न नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित मन्त्रालयसँग आग्रह गर्दछौं।”
युनियनले उद्योगले समयमै बिल तिरेको दाबी गर्दै ‘CIP Award प्राप्त उद्योगमाथि अन्यायपूर्ण व्यवहार गरिएको’ उल्लेख गरेको छ।
विज्ञप्तिमा अझ भनिएको छ,
“रिलायन्सले देशका ३ हजारभन्दा बढी कपडा उद्योगलाई धागो आपूर्ति गर्दै आएको छ।
उद्योग बन्द हुँदा देशकै वस्त्र उद्योग श्रृंखला प्रभावित भएको छ, डलर आम्दानी शून्यमा झरेको छ।”
विज्ञप्तिमा श्रमिक संगठन, स्थानीय प्रशासन र प्रदेश सरकारबीच तत्काल त्रिपक्षीय वार्ता गरेर समाधान निकाल्न माग गरिएको छ।
२०५१ सालमा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्सले अत्याधुनिक मेसिनरीमार्फत दैनिक एक सय टनभन्दा बढी धागो उत्पादन गर्दै आएको थियो।
उद्योगले टर्की, जापान, भारत लगायतका देशमा निर्यात गर्दै वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको थियो।
हाल उद्योग बन्द हुँदा उत्पादन शून्य भएको छ र देशभित्रका ३ हजारभन्दा बढी कपडा उद्योग कच्चा पदार्थ अभावमा प्रभावित भएका छन्। यस उद्योगमा ४००० मजदुर प्रत्यक्ष कामदारको रुपमा रहेका छन् भने करिब २० हजार मान्छे आश्रित परिवारको रुपमा रहेको छ।

तपाईको प्रतिक्रिया