इटहरी , कात्तिक ८ गते । सूर्यदेवको आराधनाको महान् पर्व छठ आजदेखि श्रद्धा र भक्तिभावसहित चार दिनसम्म मनाइँदैछ। मिथिलाञ्चल र सम्पूर्ण तराई–मधेशका जनसमुदाय अहिले छठमय बनेका छन्।

पहिलो दिन आज ‘नहाय–खाय’ विधिले पर्वको आरम्भ गरिएको छ। ब्रतालुहरूले बिहानै नदी, पोखरी वा जलाशयमा स्नान गरी शुद्ध भई अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा रहिआएको छ। यो दिनलाई आत्मशुद्धि र भक्ति यात्राको प्रारम्भका रूपमा लिइन्छ।

भोलि दोस्रो दिन ‘खरना’ मनाइनेछ। यस दिन साँझ ब्रतालुहरूले चामल, दूध र सक्खर मिसाई खीर बनाएर प्रसादस्वरूप ग्रहण गर्छन्। यसपछि उनीहरू ४८ घण्टासम्म निराहार व्रत बस्ने परम्परा छ, जसले छठलाई निष्ठा र कठोर साधनाको प्रतीक बनाएको छ।

तेस्रो दिन सोमबार मुख्य छठ अर्थात् साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन हो। ब्रतालुहरूले बाँसको ढाकी, डगरी, माटोका कोसिया–कुरबार, ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, मिठाई, तरकारी र फलफूलसहित सूर्यदेवलाई अर्घ्य अर्पण गर्छन्।

अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको विधिवत् समापन हुनेछ, जसलाई ‘पारन’ भनिन्छ। यस दिन अर्घ्यका सामग्रीहरू प्रसादका रूपमा ग्रहण र वितरण गरिन्छ, जसले समाजमा एकता र सद्भावको सन्देश फैलाउँछ।

यस अवसरमा तराई–मधेशका बजारहरूमा पूजा सामग्री किनमेलको चहलपहल छ भने  स्थानीय पोखरी र जलाशयहरू दीप र सजावटले झलमल्ल बनेका छन्। मिथिलाञ्चल आज छठ गीतका मधुर धुनले गुन्जायमान छ।

छठ केवल आराधना र व्रतको पर्व मात्र नभई, सामाजिक एकता, पारिवारिक समृद्धि र सन्तान कल्याणको प्रतीक पनि हो।

 

तपाईको प्रतिक्रिया