इटहरी / अविरल वर्षापछि आएको बाढीले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरूमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी इटहरी र दुहबी खण्डमा पर्ने प्रमुख उद्योगहरू डुबानमा परेपछि उद्योगीहरू चिन्तित बनेका छन्।

स्थानीय ट्याङ्ग्रा खोलामा आएको आकस्मिक बाढीले इटहरीस्थित रिलायन्स स्पिनिङ मिल्स, प्रगति टेक्सटाइल र दुहबीस्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड लगायतका उद्योगहरूमा पानी पसेको हो। बाढीका कारण उद्योग परिसर जलमग्न बनेको र २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

अरिहन्त मल्टी फाइबर्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईँका अनुसार, बाढीले उद्योगको पर्खाल भत्काएर परिसरमा प्रवेश गर्दा तयारी जुट सामग्री, कच्चा पदार्थ र अत्याधुनिक मेशिनरी उपकरणहरू पूर्ण रूपमा डुबानमा परेका छन्।

“उद्योगका सबै गोदाम र उत्पादन लाइनमा पानी पसेको छ। विद्युत् प्रणालीदेखि मेसिनसम्म डुबानमा परेका छन्,” — बजगाईँले भने।

यस्तै, इटहरीस्थित रिलायन्स स्पिनिङ मिल्स र प्रगति टेक्सटाइलमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। उद्योग परिसरमा अझै पानी नघटेकाले क्षतिको पूर्ण विवरण संकलन हुन सकेको छैन।

बाढीले करिडोरका अन्य उद्योगहरूमा पनि उत्पादन पूर्णरूपमा ठप्प पारेको छ। लगातारका वर्षा र कमजोर नाली प्रणालीका कारण करिडोर क्षेत्रमा हरेक वर्ष उद्योगीहरूले करोडौँ रुपैयाँको क्षति व्यहोर्नु परेको गुनासो गर्दै आएका छन्।

उद्योगीहरूले सरकारसँग स्थायी ढाँचाको बाढी व्यवस्थापन र करिडोर वरपरका खोलाहरूको तटबन्ध सुदृढीकरण गर्न माग गरेका छन्।

“हरेक वर्ष यसरी बाढीले उद्योग डुबाउँछ, तर कुनै दीर्घकालीन समाधान हुँदैन्,” — उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए।

स्थानीय प्रशासनका अनुसार उद्धार र क्षति मूल्यांकनको काम जारी छ भने बाढी घटेपछि मात्र वास्तविक क्षतिको अनुमान गर्न सकिने छ।

तपाईको प्रतिक्रिया