सुनसरी । गए रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रुपमा बढेको छ । आज विहान ७ बजे कोशी नियन्त्रण कक्षले मापन गरेको तथ्यांक अनुसार नदीमा प्रति सेकेण्ड २ लाख ७७ हजार ३ सय १० क्युसेक पानीको बहाव भएको छ ।

बहाव बढेसँगै कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदीको पानीको सतह खतराको तह नजिक पुगेपछि रातो बत्ती जलाएर उच्च सतर्कता संकेत गरिएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले सप्तकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्क रहन आग्रह गर्नुभएको छ । उहाँका अनुसार अहिले प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन टोलीहरू सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा छन् ।

त्यस्तै, निरन्तरको वर्षाका कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रका धेरै उद्योगहरूमा पानी पसेको र उत्पादन गतिविधि प्रभावित भएको प्रारम्भिक रिपोर्टहरू प्राप्त भएका छन् । साथै, तटीय बस्तीका सयौं घरहरू डुबानमा परेका छन् ।

स्थानीय प्रशासनले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न र अनावश्यक जोखिम नलिन आग्रह गरेको छ ।
कोशीमा पानीको बहाव अझ बढ्ने सम्भावना रहेकाले बाढी जोखिम क्षेत्रका जनतालाई सतर्क रहन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया