इटहरी / देशका पाँच पटक प्रधानमन्त्री रहेका शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा हाल भाडाको घरमा बस्न थालेका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरेपछि उनीहरूले महाराजगञ्जमा भाडामा घर लिएर बसाइ सरेका हुन् ।
स्रोतका अनुसार देउवा दम्पत्ति हाल महाराजगञ्जको एक निजी आवासमा भाडामा बसेका छन् । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवा र पूर्वराज्यमन्त्री समेत रहेकी राणा कहाँ बसेका छन् भन्ने बारेमा भने पार्टीले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
गत महिनाको आन्दोलनका क्रममा देउवाको बुढानिलकण्ठस्थित निवासमा तोडफोड, आगजनी र लुटपाटसम्म भएका थिए । त्यस क्रममा देउवा दम्पत्तिमाथि शारीरिक आक्रमण समेत भएको बताइन्छ । कुटपिट र तनावका कारण स्वास्थ्यमा समस्या आएपछि उनीहरूलाई शिवपुरीस्थित ब्यारेकमित्र अस्पतालमा राखी उपचार गरिएको थियो ।
उपचारपछि डिस्चार्ज भएका देउवा र राणा अहिले अस्थायी रूपमा महाराजगञ्जको भाडाको घरमा बसिरहेका छन् । उनीहरू हालसम्म पनि सार्वजनिक रूपमा देखिएका छैनन् ।
राजनीतिक रूपमा लामो अनुभव र पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवा अहिलेको घटनाक्रमपछि सार्वजनिक गतिविधिबाट टाढा रहेका छन् । कांग्रेस भित्र समेत देउवा–राणा दम्पत्तिको हालको स्थिति र बसोबासबारे आधिकारिक जानकारी बाहिर आएको छैन ।
यद्यपि, पार्टीभित्रका निकट स्रोतहरूका अनुसार देउवा दम्पत्तिले अस्थायी रूपमा महाराजगञ्जमै बसोबास गर्दै परिस्थिति सामान्य भएपछि पुनः आफ्नो निवास पुनर्निर्माण गरेर फर्किने योजना बनाइरहेका छन् ।





