इटहरी /चाडपर्वको अवसरमा बढ्न सक्ने अपराध नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले सक्रियता बढाएको छ।

इटहरीका डीएसपी सुवास हमालका अनुसार जेन्जी आन्दोलनपछि प्रहरीको उपस्थिति कमजोर देखिएको अवस्थामा चाडपर्वलाई लक्षित गर्दै अपराधी समूह सक्रिय हुन सक्ने आँकलनसहित प्रहरी सतर्कता उच्च बनाइएको हो।

“चाडपर्वको मौका छोपेर जुवातास, चोरी–पैठारीलगायतका गतिविधि बढ्ने सम्भावना रहन्छ। साथै आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दी गाउँ–टोलमा सक्रिय हुन सक्ने चुनौती पनि छ,” डीएसपी हमालले बताए।

जेन्जी आन्दोलनका क्रममा इटहरीलगायत यस क्षेत्रका अधिकांश प्रहरी चौकी र बिट ध्वस्त भएका थिए। त्यसपछि तरहरा प्रहरी चौकीमार्फत शान्ति–सुरक्षाको व्यवस्था मिलाउँदै आएको इलाका प्रहरी कार्यालय इटहरीले अहिले चौकी र बिटहरू पुनः संचालनमा ल्याउँदै प्रहरी तैनाथी क्रमशः बढाइरहेको छ।

प्रहरीले वर्दीधारी मात्र होइन, सादा पोसाकमै पनि व्यापक परिचालन गर्दै चाडपर्व लक्षित अपराध नियन्त्रण अभियान चलाइरहेको जनाएको छ।

डीएसपी हमालले नागरिकलाई सुरक्षामा सहयोग गर्न, शंकास्पद गतिविधि देखिए तुरुन्तै प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया