विराटनगर, असोज १० – भारतको जोगवनी बजारमा उत्पन्न साम्प्रदायिक तनावका कारण नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार तत्कालका लागि नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक लगाइएको छ।

शुक्रबार बिहान मुस्लिम समुदायले सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे गरिएको आपत्तिजनक टिप्पणीको विरोध गर्दै प्रदर्शन सुरु गरेको थियो। सोही क्रममा बजरंग दलका युवाहरू पनि सडकमा उत्रिएपछि मुस्लिम र हिन्दू समुदायबीच दोहोरो झडप भएको बताइएको छ।

झडप बढ्दै गएपछि जोगवनीको वातावरण तनावग्रस्त बनेको छ। लाठी र भालासहित दुवै पक्ष सडकमा उत्रिएपछि ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ भने केही स्थानमा तोडफोडसमेत भएको छ। भारतीय अधिकारीहरूले दुबै समुदायलाई संयमित रहन आग्रह गरेका छन्।

तनाव चर्किएसँगै विराटनगरको रानी नाकाबाट जोगवनीतर्फ जाने नेपालीलाई रोकिनु परेको छ। किनमेलका लागि गएका सयौं नेपाली हतार–हतार नेपाल फर्किएका छन् भने नयाँ यात्रुलाई नाकामै रोकिएको छ।

रानी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको प्रजिअ यादवले जानकारी दिए। उनका अनुसार, “स्थिति पूर्णरूपमा सामान्य भएपछि मात्र नाका खोलिनेछ।”

 

तपाईको प्रतिक्रिया