काठमाडौं, असोज ९ – प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकपछि सम्बोधनको कार्यतालिका औपचारिक रूपमा तय गरिएको हो।
भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीको यो प्रधानमन्त्री पदभार ग्रहण गरेपछि जनतासमक्ष प्रत्यक्ष सम्बोधन गर्ने पहिलो अवसर हो। पूर्व प्रधानन्यायाधीश समेत रहेकी कार्की ‘जेनजी’ आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारकी प्रमुख हुन्।
उनको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ। सरकारका अनुसार अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी छ महिनाभित्र स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नु हो।
आजको सम्बोधनमार्फत प्रधानमन्त्री कार्कीले
- वर्तमान राजनीतिक परिस्थिति,
- आगामी निर्वाचनको तयारी,
- सरकारका प्राथमिकता,
- र आगामी योजनाबारे स्पष्ट दृष्टिकोण राख्ने अपेक्षा गरिएको छ।
मुलुक असामान्य राजनीतिक मोडमा रहेका बेला प्रधानमन्त्रीको सम्बोधनलाई सर्वत्र विशेष चासोका साथ हेरिएको छ।






