इटहरी ९– सरकारले जेन–जी आन्दोलनको दमनमा संलग्न रहनुका साथै सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) को अनुसन्धानमा परेका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी थालेको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसबारे मन्त्रिपरिषद् स्तरमै छलफल अघि बढाएको छ।

राहदानी रोक्का सूचीमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा, तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परेका छन्। कानुनी प्रक्रिया पूरा भएपछि मात्रै राहदानी रोक्का औपचारिक रूपमा लागू हुने बताइएको छ।

यसअघि अध्यागमन विभाग र राहदानी विभागसँग छलफल गर्दै सरकारले ऐन २०७६ अन्तर्गत राहदानी रोक्का गर्न सकिने कानुनी आधार र प्रक्रिया बारे जानकारी लिएको छ। विभागका अनुसार ठोस प्रमाण र कारण प्रस्तुत भएपछि मात्र यस्तो कदम चाल्न सकिन्छ।

सम्पत्ति शुद्धीकरण विभागले हालै देउवा, ओली, प्रचण्ड र दीपक खड्काको निवासमा पुगेर मुचुल्का उठाइसकेको छ। जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले उनीहरूको घरमा आगजनी गर्दा ठूलो मात्रामा नगद तथा अमेरिकी डलरका टुक्रा भेटिएको दाबीसहित भिडियो सार्वजनिक भएको थियो। सो घटनाको अनुसन्धान विभागले अघि बढाइसकेको छ।

त्यसैगरी, २३ भदौमा आन्दोलन दमनका क्रममा २१ जनाको ज्यान गएको घटनाबारे पनि छानबिन आयोग गठन हुने तयारी भएको छ। यी दुवै विषयमा अनुसन्धान जारी रहेकाले सम्बन्धित नेताहरूको राहदानी रोक्का गरेर कानुनी प्रक्रिया अघि बढाउने सरकारको तयारी रहेको स्रोतहरूले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया