सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–१, खुनिया पुल नजिकै आज बिहान भएको बस–ट्रक ठोक्किने दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) योगराज खतिवडाका अनुसार पश्चिमतर्फबाट पूर्वतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०९४९ नम्बरको यात्रुबाहक बसले सडक छेउमा बिग्रिएर रोकी राखिएको ना.६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मृतकमध्ये एक पुरुषको जिल्ला अस्पताल इनरुवामा र एक महिलाको न्युरो–कार्डियो अस्पताल भोक्राहामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मृतक दुवै जनाको परिचय भने खुल्न बाँकी रहेको डिएसपी खतिवडाले बताए।

घाइतेको अवस्था

दुर्घटनामा घाइते हुनेहरूमा —

  • प्रकाश सरदार (२५) र उनकी श्रीमती पुनम सरदार (३०), रुपनी–९, सप्तरी
  • ज्ञानदेवी चौधरी (५०), खडक नगरपालिका–५, सप्तरी
  • बानेश्वरी देवी चौधरी (५२) र केसीदेवी चौधरी (३५), धनगढीमाई नगरपालिका–३, सिराहा
  • शान्तिदेवी चौधरी (५५), धनगढीमाई नगरपालिका–१, सिराहा
  • दिनेशकुमार चौधरी (४०) र उनकी श्रीमती चन्द्रिका चौधरी (३६), खडक नगरपालिका, सप्तरी
  • प्रभानन्द चौधरी (५०), लहान नगरपालिका–१, सिराहा
  • पुरुषोत्तम चौधरी (३६), सुरुङ्गा नगरपालिका–९, सप्तरी

समेत रहेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र सबैको उपचार जिल्ला अस्पताल इनरुवामा भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। ठक्कर कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया