
सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्ने प्रक्रियामा हतार नगर्न चेतावनी दिएका छन्।
काठमाडौंमा राजनीतिक निकास खोज्ने प्रयत्न स्वरूप जेन–जी आन्दोलनका प्रतिनिधिहरूसँग वार्ता अघि बढिरहेको बेला साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
बुधबार बिहान गरिएको स्टाटसमा उनले भनेका छन्, “नेपाल काठमाडौं मात्रै होइन, जेन–जी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू।”
यसअघि मंगलबार राति राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार हुने भनिएको औपचारिक वार्ताको तयारी स्वरूप प्रधानसेनापति अशोक सिग्देलले केही जेन–जी प्रतिनिधिलाई जंगी अड्डा बोलाएको स्रोतहरूले जनाएका छन्।
साम्पाङको चेतावनीलाई देशव्यापी सन्देशको रूपमा हेरिएको छ। उनको भनाइमा काठमाडौं केन्द्रित सोचले मात्र समाधान खोज्दा आन्दोलन व्यापक भएको कारणलाई बेवास्ता गर्न नहुने प्रष्ट हुन्छ।





