
सुनसरीको इटहरीमा सोमबार भएको जेनजी आन्दोलन हिंसात्मक मोड लिँदा दुई जनाको ज्यान गएको छ । मृतकमध्ये एकजनाको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ निवासी २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन्। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घटनास्थलमा नै उनको मृत्यु भएको थियो।
श्रेष्ठको शव हाल प्रतिष्ठानको शवगृहमा राखिएको छ भने अर्का एक युवकको पहिचान भने खुल्न बाँकी छ।
घटनापछि प्रशासनले इटहरी बजार क्षेत्रमा कडा सुरक्षा व्यवस्था गर्दै कर्फ्यु जारी गरेको छ। कर्फ्युका कारण बजार, पसल, सवारी साधन आवागमन पूर्णरुपमा बन्द छन्। साथै यस क्षेत्रमा रहेका विद्यालयहरू पनि अनिश्चितकालका लागि बन्द गरिएको छ।
यस घटनाले स्थानीयमा तनाव बढाएको छ भने आन्दोलनकारी र सुरक्षा निकायबीच फेरि झडप हुने आशंका कायम रहेको प्रहरीले जनाएको छ।





