इटहरी / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर सार्वजनिक तथा मालवाहक सवारी साधन अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेको छ।

महासङ्घले भदौ २३ गते ‘जेन–जिन’ समूहको शान्तिपूर्ण प्रदर्शनमा सरकारी दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति–सुरक्षाको प्रत्याभूति नभएसम्म यातायात सेवा सञ्चालन नगर्ने जनाएको हो।

घटनामा घाइते भएका प्रति सहानुभूति व्यक्त गर्दै महासङ्घले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, नेपाल सरकारले सबै घाइतेको उपचारको पूर्ण व्यवस्था मिलाउनुपर्ने माग राख्दै महासङ्घले आफ्ना सबै सदस्य संघ–संस्था, समिति, कम्पनी र प्रालिहरूलाई उपचार सहयोगमा सक्दो योगदान गर्न आह्वान गरेको छ।

महासङ्घका अनुसार काठमाडौँ उपत्यका सहित देशभर कर्फ्यु आदेश जारी भएकोले जनजीवन ठप्प भएको छ। असुरक्षा र अशान्त वातावरणका कारण सार्वजनिक तथा मालवाहक यातायात सञ्चालन असम्भव भएकाले बन्दको घोषणा गरिएको स्पष्ट गरिएको छ।

 

तपाईको प्रतिक्रिया