सुनसरी । कोशी प्रदेशमा युवाबीच तीव्र गतिमा फैलिएको कुलत र लागुऔषध प्रयोगप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकार समस्याको नियन्त्रणमा कडा कदम चाल्ने तयारीमा रहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताएका छन्।

इटहरी उपमहानगरपालिका–१३, सोमवारेस्थित सिटी हेल्थ क्लब २.० को उद्‍घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले युवावस्थामै कुलतमा फस्ने प्रवृत्ति बढ्दो दरमा रहेको बताउँदै व्यायामशालाले अनुशासन, परिश्रम र सामूहिकताको भावना विकास गर्ने भएकाले यसले कुलत नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले प्रदेश सरकारले लागुऔषध ओसारपसार र प्रयोगविरुद्ध कडा रुपमा कारबाही गर्ने उल्लेख गर्दै स्वस्थ जीवनशैलीतर्फ युवालाई आकर्षित गर्न यस्ता स्वास्थ्यमैत्री संस्था आवश्यक रहेको धारणा राखे।

करिब ५० लाख रुपैयाँको लगानीमा स्थानीय युवा व्यवसायी शुशिल शाह र सरोज कार्कीले सञ्चालनमा ल्याएको सिटी हेल्थ क्लब २.० अत्याधुनिक सुविधा सम्पन्न व्यायामशाला भएको सञ्चालकहरूले जनाएका छन्।

सञ्चालक सरोज कार्कीका अनुसार क्लबले इटहरी मात्र नभई खनार, दुहबीलगायत आसपासका क्षेत्रका युवालाई लक्षित गर्ने उद्देश्य लिएको छ। अर्का सञ्चालक शुशिल शाहले यस क्षेत्रका युवाले अब अन्यत्र धाउनुपर्ने आवश्यकता नरहेको बताउँदै आधुनिक शैली र सुविधा सम्पन्न व्यायामशाला स्थानीयस्तरमै उपलब्ध गराएको जानकारी दिए।

व्यामशालामा पुर्वी नेपालका दक्ष तथा अनुभवी प्रशिक्षकद्धारा प्रशिक्षण दिइने सञ्चालकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया