।
सनसरी । सुनसरीको झुम्का कारागारबाट साउन २८ गते बिहान फरार भएका कैदी अन्ततः पक्राउ परेका छन्। जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका २८ वर्षीय रूपक पौडेल खत्रीलाई झापाको बिर्तामोड नगरपालिका–१० विराट पोखरीस्थित आफन्तको घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार आज शनिवार बिहान करिब ६ बजे पक्राउ गरिएको जानकारी दिएका छन्। उनका अनुसार, खत्री शुक्रबार राति आफन्तको घरमा लुकेर बसिरहेका अवस्थामा पक्राउ परेका हुन्। फारार कैदीलाई झापाबाट सुनसरी ल्याउने तयारी गरिएको छ। फरार कैदी लाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अगाडि बढाइने प्रमुख जिल्लाधिकारी मिश्रले जानकारी दिनुभयो ! कारागारबाट फरार भएका कारण उनलाई थप सजाय हुने समेत प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो।
कारागारबाट यस्तो गरे भाग्ने प्रयास
सुनसरीको झुम्का कारागारको ‘बि ब्लक’ मा थुनिएका खत्रीले कारागार भित्रैको मुढा उत्पादन गर्ने उद्योगमाथि चढेर करिब १० फिट लामो सिँढी तयार पारेका थिए। सोही सिँढी प्रयोग गरी उनले २० फिट अग्लो पर्खाल नाघी साउन २८ गते बिहान करिब २ बजेतिर कारागारबाट फरार भएका थिए।
कोशी प्रदेश प्रहरी कार्यालयको पिआइटी टोली, सुनसरी र झापा प्रहरीले संयुक्त रूपमा सम्भावित स्थानमा निगरानी गर्दै आएपछि उनी नियन्त्रणमा लिइएका हुन्।
बलात्कार मुद्दामा दोषी ठहर
खोटाङ दिप्रङ चुईचम्पा गाउँपालिका–२ का खत्रीलाई सामूहिक बलात्कारको मुद्दामा जिल्ला अदालत सुनसरीले १३ वर्ष कैद सजाय सुनाएको थियो। अदालतले २०८१ चैत २५ गते फैसला गरेको थियो भने पुर्पक्षका लागि गत साउन २१ गते उनलाई कारागार चलान गरिएको थियो।
छानबिन समिति गठन
फरार घटनापछि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले कारागार प्रशासन, प्रहरी र कर्मचारीहरूसँग बयान लिँदै कारागारको सुरक्षा कमजोरीका कारणबारे अध्ययन गर्ने बताइएको छ।
समितिले घटनाको सम्पूर्ण पृष्ठभूमि, कारागारको सुरक्षा व्यवस्थाको अवस्था र कैदी फरार हुनाका कारण समेटेर प्रतिवेदन पेस गर्ने जनाइएको छ।





