इटहरी, इटहरी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख द्वारिकलाल चौधरीले हालको स्थानीय सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। बुधबार आयोजित  पत्रकार सम्मेलनमा उनले इटहरीको विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक कार्यसम्पादनमा चरम सुस्तता देखिएको आरोप लगाए।

पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी र नागरिक समाजका अगुवा उपस्थिति थिए। त्यही अवसरमा चौधरीले वर्तमान नगर प्रशासन प्रति १३ बुँदे गुनासो सार्वजनिक गरेका हुन्।

उनको आरोप अनुसार, तीन वर्षअघि निर्वाचित स्थानीय सरकारले संविधानको मर्म तथा जनअपेक्षाअनुसार काम गर्न नसकेको छ। उनले जनहितका योजना निरन्तरता नपाएको, सुरु भएका पूर्वाधार निर्माण अधुरो रहनुका साथै विकासमा खासै पहल नभएको जिकिर गरे।

चौधरीले प्रस्तुत गरेको १३ बुँदे सरोकारमा उल्लेख गरिएका मुख्य बुँदाहरू यस्ता छन्:

  • इटहरी–धरान सडक विस्तारको ढिलाइ

  • ट्राफिक व्यवस्थापनको अभाव

  • दीर्घकालीन खानेपानी समस्या समाधानमा उदासीनता

  • सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा कमजोरी

  • पर्यटकीय संरचना विकासमा चासो नदिनु

  • सडक, पुल, पार्क तथा सामुदायिक भवनहरूको मर्मत सम्भारमा लापरबाही

उनले भने, “जनताको करबाट संकलित बजेट विकासमा होइन, खर्चिलो प्रशासनिक ढाँचामा खपत भइरहेको छ।” उनले नगरवासीका दीर्घकालीन हितका लागि तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरे।

पूर्व नगरप्रमुख चौधरीले नगरपालिकालाई पार्टीका कार्यकर्ता भर्ती केन्द्रमा परिणत गर्ने प्रवृत्तिमाथि पनि कडा आलोचना गरे। उनले आर्थिक अनुशासनको पालना, पारदर्शी प्रशासनिक व्यवहार, र दीर्घकालीन योजना निर्माणको आवश्यकता औंल्याए।

उनको भनाइमा, “विकास निर्माणमा गति ल्याउन वर्तमान नेतृत्वले इमान्दारिताका साथ समीक्षा गर्दै नगरका सम्भावित चुनौतीहरू पहिचान गरी भविष्यमुखी योजना ल्याउनु जरुरी छ।”

चौधरीको प्रस्तुत १३ बुँदे सरोकारले इटहरी उपमहानगरपालिकाको वर्तमान नेतृत्वलाई पुनर्विचार गर्न बाध्य पार्ने अपेक्षा गरिएको छ। त्यसतै चौधरीले आवश्यक परे आफ्नो नेतृत्वमा इटहरी सरकारलाइ दवाव दिव अवज्ञालगायतका आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । उनी अहिले नेकपा एमालेका कोशी प्रदेश कमिटि सदस्य समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया