सुनसरी / देशभरका प्रहरी कार्यालयहरूलाई पक्राउ परेका व्यक्तिहरूको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न निर्देशन दिइएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले हालै जारी परिपत्रमार्फत कुनै पनि घटना वा अपराधमा पक्राउ परेका व्यक्तिका तस्बिर, भिडियो वा कुनै पनि दृश्य सार्वजनिक नगर्न स्पष्ट रूपमा निर्देशन दिएको हो। प्रहरी नायब महानिरीक्षक तथा प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले उक्त जानकारी दिनुहुँदै, पत्रकार सम्मेलन वा सूचना प्रवाहका क्रममा पनि यस्ता सामग्री नपठाउन तथा सार्वजनिक नगर्न सबै प्रहरी युनिटहरूलाई कडाइका साथ निर्देशन दिइएको बताए।

उक्त निर्णय नेपाल प्रहरीलाई महान्यायाधिवक्ताको कार्यालयबाट असार महिनामै आएको निर्देशनको पालना स्वरूप गरिएको हो। महान्यायाधिवक्ताको कार्यालयले पक्राउ परेका व्यक्तिको गोपनीयता र मानवअधिकार संरक्षणलाई ध्यानमा राख्दै यस्तो निर्देशन दिएको बताइएको छ।

प्रहरी प्रवक्ता घिमिरेका अनुसार, यदि कुनै गम्भीर प्रकृतिको जघन्य अपराधमा सार्वजनिक चासो अत्यधिक रहेको खण्डमा भने सम्बन्धित सरकारी निकायको पूर्वस्वीकृतिमा मात्र तस्बिर वा भिडियो सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको छ।

यस निर्देशका पालना हुँदैमा पक्राउ परेका व्यक्तिको सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने वा निष्पक्ष अनुसन्धान प्रक्रियामा बाधा पुग्ने सम्भावनालाई न्यूनीकरण गर्न सकिने प्रहरीको विश्वास छ।

सरकार तथा मानवअधिकारवादी संस्थाहरूले यस्ता कदमलाई सकारात्मक रुपमा लिँदै, व्यक्तिको कानुनी अधिकार र मर्यादाको संरक्षणका लागि यस्ता निर्देशन आवश्यक रहेको औंल्याएका छन्।

 

तपाईको प्रतिक्रिया