इटहरी /इटहरी उपमहानगरपालिकामा बजेट होलिडे सुरु भएकोप्रति आपत्ति जनाउँदै नेकपा (माओवादी केन्द्र) ले चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ।

माओवादी केन्द्र इटहरी नगर समितिले विज्ञप्ति जारी गर्दै नगर सरकारमा रहेका दलहरू एकअर्कालाई दोषारोपण गर्दै समस्याबाट पन्छिन खोजेको आरोप लगाएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि इटहरी उपमहानगरले बजेट त ल्याए पनि अहिलेसम्म पारित गर्न नसकिएकोप्रति माओवादीले गम्भीर चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “आर्थिक वर्ष ०८१/८२ को अन्त्य भइसक्दा समेत ०८०/८१ मा सम्पन्न विभिन्न योजनाहरूको भुक्तानी दिन असफल हुनु नगरपालिकाको अक्षमता हो।”

त्यस्तै, पार्टीले इटहरीका मेयर हेमकर्ण पौडेलले पत्रकार र सञ्चारकर्मीहरूमाथि लगाएका ‘आधारहीन आरोप’को पनि कडा विरोध जनाएको छ।

“हाम्रो पार्टी संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउँछौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

माओवादीले उपमहानगरमा बढ्दो बेरुजुप्रति पनि आपत्ति जनाउँदै चिन्ता व्यक्त गरेको छ। महालेखा परीक्षक कार्यालयको हालैको प्रतिवेदनअनुसार देशभरका उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै बेरुजु इटहरी उपमहानगरपालिकाको रहेको उल्लेख गरिएको छ।

पार्टीले तत्काल बजेट पास गरी जनतालाई प्रभाव नपर्ने गरी योजना र सेवा प्रवाह सञ्चालन गर्न नगर सरकारसँग माग गरेको छ।

तपाईको प्रतिक्रिया