
सुनसरी — कोशी प्रदेशको विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा चिकित्सक परिचालनसम्बन्धी निर्णय विवादित बनेको छ । कानुनी प्रक्रिया मिचेर इटहरी यातायात कार्यालयले नयाँ चिकित्सक परिचालन गरेपछि विवाद चुलिएको हो ।
प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा यी कार्यालयमा हाल कार्यरत चिकित्सकको सम्झौता अवधि नटुंगिँदै अनधिकृत रूपमा नयाँ चिकित्सक खटाएका छन् । सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा नविकरणका लागि आवश्यक स्वास्थ्य परीक्षणमा खटिने चिकित्सक नियुक्तिमा कानुनी प्रक्रिया उल्लंघन भएको आरोप वर्तमान चिकित्सकहरू लगाइरहेका छन् ।
सम्झौता अवधि नटुंगिँदै चिकित्सक हटाउने प्रयास
इटहरी यातायात कार्यालयमा हालसम्म सेवा दिँदै आएका चिकित्सक मनिष यादवले आफ्नो सम्झौता २०८२ सालको भदौ मसान्तसम्म कायम रहेको भए पनि कार्यालयले दुई महिनाअघि नै मौखिक रूपमा सेवा रोक्ने आदेश दिएको बताए । “सम्झौता सकिन बाँकी छ, तर अपमानजनक तरिकाले हटाएर नयाँ चिकित्सकलाई खटाइएको छ,” यादवले गुनासो गरे ।
अस्थायी प्रमाणपत्रधारी चिकित्सक नियुक्त
प्रदेश सरकारको राजपत्र (भाग २, मिति २०८२ असार ११) अनुसार नेपाल मेडिकल काउन्सिलबाट स्थायी प्रमाणपत्र प्राप्त चिकित्सक मात्र स्वास्थ्य परीक्षणमा खटिन सक्ने स्पष्ट व्यवस्था छ । तर, इटहरीमा आजदेखि खटिएका चिकित्सक राजेन्द्र खत्बे अस्थायी प्रमाणपत्रधारी रहेको स्रोतले जनाएको छ ।
निशुल्क सेवा बन्द, सेवाग्राहीबाट शुल्क उठाउन थालियो
इटहरी यातायात कार्यालयले आजदेखि निशुल्क स्वास्थ्य परीक्षण सेवा बन्द गर्दै सेवाग्राहीहरूसँग प्रतिव्यक्ति ३ सय रुपैयाँ असुल्न थालेको छ । यसअघि प्रतिस्पर्धामार्फत चिकित्सक नियुक्त भई निःशुल्क सेवा दिँदै आइएको थियो ।
यस कदमप्रति सेवाग्राहीहरूले तीव्र आपत्ति जनाएका छन्। “पहिले त निःशुल्क सेवा पाइन्थ्यो, अहिले आएर पैसा तिर्नुपरेको छ,” एक सेवाग्राहीले भने ।
यता इटहरी यातायात कार्यालयका प्रमुख सतीश सत्यालले मन्त्रालयको निर्देशनअनुसार मात्र नयाँ चिकित्सक खटाइएको बताए । “सम्झौता खारेज गर्ने आधार नभएपनी मन्त्रालयको निर्णयअनुसार आजदेखि नयाँ चिकित्सकले काम थालेका छन्,” उनले भने ।
विर्तामोडमा सेवा स्थगित
विवाद चर्किएसँगै विर्तामोड यातायात व्यवस्था कार्यालयले आज स्वास्थ्य परीक्षण सेवा स्थगित गरेको सूचना जारी गरेको छ । कार्यालयमा कार्यरत चिकित्सक नारायण सिंह ताजपुरियाले आज सेवा रोकिएको जानकारी दिएका छन् । कार्यालयले सुचना जारी गर्दै आज स्वास्थ्य सेवा सम्बन्धी सम्पुर्ण सेवा वन्द रहेको जानकारी आफुले पाएको उनले बताए ।
कोशी प्रदेशका प्रमुख यातायात कार्यालयहरूमा चिकित्सक नियुक्ति तथा सेवा संचालनसम्बन्धी निर्णयमा स्पष्टता नहुँदा अनावश्यक विवाद र सेवाग्राहीको असन्तोष बढ्दै गएको छ । कानुन विपरीत अस्थायी चिकित्सक परिचालन, निःशुल्क सेवा बन्द, र शुल्क असुलीले सेवा पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न उठाएको छ ।





