सुनसरी /सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयले अझैसम्म आफ्नै ट्रायल सेन्टर निर्माण गर्न नसक्दा सेवाग्राहीहरू दैनिक रुपमा सास्ती भोगिरहेका छन् । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन चाहने सेवाग्राहीहरूले लिखित परीक्षा त इटहरीमै दिन सक्ने अवस्था छ, तर ट्रायलका लागि उनीहरूलाई मोरङ्ग जिल्लाको सुन्दरहरैचा पुग्नुपर्ने बाध्यता छ ।
इटहरी उपमहानगरपालिका–१० मा निर्माण गरिएको सुविधा सम्पन्न भवनमा हाल कार्यालय सञ्चालन भए पनि ट्रायलको लागि आवश्यक भौतिक संरचना—जग्गा तथा पूर्वाधार नहुनु प्रमुख समस्या बनेको छ । कार्यालय इटहरीको आफ्नै भवनमा स्थानान्तरण भएको केही वर्ष भइसके पनि ट्रायल स्थलको स्थायी समाधान नहुनुले सेवाग्राहीहरूमाझ असन्तोष बढ्दो छ ।
सुनसरी यातायात व्यवस्था कार्यालयमा दैनिक करिब २ सय मोटरसाइकल तथा स्कुटी र १ सय भन्दा बढी चारपांग्रे सवारी साधनको ट्रायलका लागि सेवाग्राहीहरू आवेदन दिने गरेका छन् । तर उनीहरू सबैलाई करिब ७ किलोमिटर टाढाको मोरङ्ग, सुन्दरहरैचा–५ स्थित ट्रायल सेन्टर धाउनुपर्ने बाध्यता वनाइएको छ ।
उक्त ट्रायल सेन्टर शारदा माध्यमिक विद्यालयको जग्गामा सञ्चालन भइरहेको छ । विद्यालयसँग लिज सम्झौता गरेर मोटरसाइकल, स्कुटी, कार, बस, ट्रक, जेसिभीलगायतका सवारी साधनहरूको प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको छ । तर हालको ट्रायल क्षेत्र साँघुरो र जिर्ण हुँदै गएकाले थप समस्या देखिन थालेको छ ।
कोशी गाउँपालिकाका पवन रोनियार जस्ता सेवाग्राहीहरू यस व्यवस्थाले निकै असहजता र आर्थिक भार थपिएको गुनासो गर्छन् । “सुनसरीमा यति ठूलो भवन छ, अनि ट्रायल सेन्टर चाहिँ अर्को जिल्लामा जानुपर्ने? यो कस्तो विडम्बना?“ – उनी भन्छन् । अन्य सेवाग्राहीहरूले पनि समय, यातायात खर्च, र ट्रायल स्थानसम्म पुग्दा हुने कठिनाइका कारण लाइसेन्स प्रक्रियामा निराशा व्यक्त गरेका छन् ।

कार्यालय प्रमुख र मन्त्रालयको प्रतिक्रिया

सुनसरी यातायात कार्यालयका प्रमुख सतीस सत्यालले भने यो समस्या आफू आउनु अगाडिदेखि नै रहँदै आएको बताउनु भएको छ। “हाललाई हामीसँग वैकल्पिक व्यवस्था छैन, यसलाई दीर्घकालीन रूपमा समाधान गर्न केही पहल आवश्यक छ“, उहाँले भन्नुभयो ।
यस विषयमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले मन्त्रालयको ध्यान पुगेको जानकारी दिनुभयो । उहाँले सुनसरीको इटहरीजस्तो क्षेत्रमा ट्रायल सेन्टरको अभाव हुनु दुःखद भएको उल्लेख गर्दै मोरङ्गको ट्रायल स्थल साँघुरो भइसकेकाले नयाँ ठाउँको खोजी तथा वैकल्पिक उपायको विषयमा मन्त्रालय गम्भीर रूपमा लागेको बताउनुभयो ।
विशेषज्ञहरूका अनुसार सवारी चालक अनुमतिपत्रको माग वर्षेनि बढ्दै गएको छ । यस्तो अवस्थामा स्थायी ट्रायल सेन्टर निर्माण नगरी समस्या समाधान नहुने स्पष्ट देखिन्छ । इटहरीजस्तो व्यस्त र भौगोलिक दृष्टिले सहज ठाउँमा यस्ता पूर्वाधार विकास गर्न नसक्नु नियाोजित , समन्वय र प्रशासनिक इच्छाशक्तिको अभावको प्रतीक हो ।
ट्रायल सेन्टरको स्थायी व्यवस्था नगरेसम्म सेवाग्राहीहरूले झन् बढी सास्ती भोग्नुपर्ने देखिन्छ । सुनसरीको इटहरीमा रहेको यातायात व्यवस्था कार्यालयमा ट्रायल सेन्टर निर्माणका लागि सरकारले तत्काल जग्गा व्यवस्थापन तथा पूर्वाधार विकासमा प्राथमिकता दिन जरुरी रहेको देखिन्छ । प्रदेश तथा संघीय सरकारको समन्वयमा दीर्घकालीन समाधान खोजी नगरे सेवाग्राहीको समस्याले अझै जटिल वन्दै जाने देखिन्छ ।

 

तपाईको प्रतिक्रिया