
सुनसरी, ११ साउन – सुनसरी जिल्ला अदालतले चालु आर्थिक वर्षमा उल्लेखनीय प्रगति गर्दै लक्ष्यको ८९.१८ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको जनाएको छ। अदालतका अनुसार चालु आर्थिक वर्षमा जम्मा १०,०१६ मुद्दा दर्ता भएका थिए, जसमध्ये ५,९९३ मुद्दा समाधान भएका छन्।
अघिल्लो वर्षबाट बाँकी रहेका ४,१४६ मुद्दा समेत जोड्दा हालसम्म अदालतमा ३,९१४ मुद्दा बाँकी रहेका छन्।
शुक्रबार अदालत परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले अदालतको कार्यसम्पादनको जानकारी दिँदै सुनसरीमा हालसम्मकै सबैभन्दा धेरै मुद्दा दर्ता भएको र तीमध्ये उल्लेख्य सङ्ख्यामा फर्छ्यौट पनि भएको बताए।
सबैभन्दा बढी दर्ता हुने मुद्दामा सम्बन्ध विच्छेद अग्रस्थानमा रहेको अदालतले जनाएको छ। चालु वर्षमा मात्रै सम्बन्ध विच्छेदका १,२१६ मुद्दा दर्ता भएका थिए, जसमध्ये १,२०० मुद्दा फर्छ्यौट भइसकेका छन्।
सम्बन्ध विच्छेदपछि लागूऔषध सम्बन्धी अपराध, बैंकिङ कसुर तथा जबरजस्ती करणी जस्ता गम्भीर प्रकृतिका मुद्दाहरू पनि तुलनात्मक रूपमा उच्च मात्रामा दर्ता भएको अदालतको भनाइ छ।
श्रेस्तेदार राणाका अनुसार मुद्दा फर्छ्यौट दरमा सुधार आउनु अदालतको दक्ष व्यवस्थापन, कानुनी पहुँच र सेवाप्रवाह सुधारको परिणाम हो। उनले मुद्दा व्यवस्थापनमा अझ पारदर्शिता र गति ल्याउने प्रतिबद्धता पनि जनाए।





