इटहरी / सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट निकासा आज अन्तिम दिनमा पुगेको छ। आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का (बन्द) गरिने भएको हो।

महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत सञ्चालनमा रहेका खाताहरू आज रातिदेखि बन्द हुने मलेनिकाकी प्रवक्ता सुशीला अर्यालले जानकारी दिइन्।

उनका अनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० बमोजिम आर्थिक वर्ष समाप्त हुन एक साताअघि नै खाताहरू रोक्का गर्नुपर्ने व्यवस्था रहेको छ। यसैअनुसार, चालु आवका लागि सिर्जित दायित्वको बजेट निकासा गर्ने आज अन्तिम अवसर हो।

प्रवक्ता अर्यालका अनुसार, आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए)कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) समेत एक साताका लागि बन्द हुनेछन्।

गत वर्षहरूमाझ मलेनिकाले असार महिनाको अन्तिम साता बजेट निकासामा रोक लगाउन सबै प्रलेनिका र कोलेनिकालाई परिपत्र पठाउने गर्थ्यो। तर, यस वर्ष भने नियमावलीमै बाध्यकारी व्यवस्था गरिएकोले अतिरिक्त परिपत्र जारी गर्न आवश्यक नरहेको अर्यालले बताइन्।

उनले भनिन्, “आर्थिक वर्ष सकिनु एक साताअगावै सरकारी खाता रोक्का गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था छ। आज रातिदेखि अत्यावश्यक प्रयोजन बाहेक कुनै पनि खर्चको भुक्तानी हुनेछैन। यसमा हाम्रो कार्यालयले छुट्टै परिपत्र गर्नुपर्ने अवस्था छैन।”

नियम ३० अनुसार, विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य कुनै पनि बजेट भुक्तानी गर्न नपाइने व्यवस्था छ। यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमति लिएर मात्र भुक्तानी गर्न सकिने।

तपाईको प्रतिक्रिया