सुनसरी / स्वास्थ्य बीमा कार्यक्रममा ऐतिहासिक सुधार गर्दै सरकारले अब आठ प्रकारका जटिल रोगमा बिरामीलाई २ लाख रुपैयाँसम्मको उपचार सहायता उपलब्ध गराउने निर्णय गरेको छ। यो सुविधा आगामी साउन १ गतेदेखि लागू हुनेछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै, पहिले उपलब्ध १ लाख रुपैयाँको सीमा दोब्बर बनाएर नागरिकको जीवनमा राहत ल्याउने प्रयत्न गरिएको बताए। मन्त्री पौडेलका अनुसार यो निर्णयले आर्थिक भार बोक्न नसक्ने वर्गको उपचार पहुँचमा महत्वपूर्ण सुधार ल्याउनेछ।

कुन रोगमा लागु हुनेछ यो सुविधा?

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत दुई लाख रुपैयाँको उपचार सहायता निम्न ८ प्रकारका जटिल रोगका बिरामीलाई लागू हुनेछः

  1. क्यान्सर
  2. मुटु रोग
  3. मिर्गौला रोग
  4. हेड इन्जुरी (टाउकोमा गम्भीर चोट)
  5. स्पाइनल इन्जुरी (मेरुदण्डमा चोट)
  6. सिकलसेल एनिमिया
  7. पार्किन्सोनिजम
  8. अल्जाइमर

निर्णय कार्यान्वयनको तयारी

मन्त्री पौडेलका अनुसार मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई औपचारिक पत्राचार गरिसकेको छ। बोर्डको हालै बसेको बैठकले यो निर्णय पारित गरेको जानकारी बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले दिएका छन्। साउन १ गतेदेखि लागू हुने यो निर्णयसँगै, जटिल रोगबाट पीडित धेरै नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

बीमा प्रणाली सुधारका थप पहल

मन्त्री पौडेलले विगतमा स्वास्थ्य बीमामा स्थानीयस्तरमै सेवा लिने व्यवस्था, रेफरल प्रणाली हटाउने नीति, र बीमा पहुँच विस्तार गर्ने घोषणा गरिसकेका छन्। अहिलेको निर्णय यसैको निरन्तरता हो।

तपाईको प्रतिक्रिया