
इटहरी — महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारमा जोड दिनका लागि इटहरी उपमहानगरपालिकाले विभिन्न पेशामुखी तालिम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनारमा सात दिने अचार बनाउने तालिम सुरु गरिएको छ। घरेलु उत्पादनलाई प्रोत्साहन गर्दै आम्दानी वृद्धि गर्ने उद्देश्यसहित यो तालिम संचालनमा ल्याइएको हो।
तालिम महिला तथा बालबालिका सरोकार केन्द्र, इटहरी–८ को आयोजनामा तथा इटहरी वडा नम्बर १२ को सहकार्यमा सञ्चालन भइरहेको छ। तालिममा स्थानीय क्षेत्रमा बसोबास गर्ने करिब २४ जना महिलाहरू सहभागी छन्। उनीहरूलाई मेथी, च्याउ, मासु लगायतका विभिन्न परिकारका अचार बनाउने तरिका सिकाइँदैछ । तालिमबाट महिलाहरूले घरेलु स्तरमै अचार उत्पादन सुरु गरी आर्थिक रूपले आत्मनिर्भर बन्ने अपेक्षा गरिएको इटहरी १२ खनारका वडा अध्यक्ष भुवनराज पोख्रेलले बताउनु भयो ।
तालिमकी प्रशिक्षक सविता दाहालका अनुसार यस्तो तालिम महिलाहरूका लागि अत्यन्तै उपयोगी हुने विश्वास लिइएको छ । उनले भनिन्, “आजभोलि बजारमा अर्गानिक र घरमै बनाइएका परिकारहरूको माग बढिरहेको छ । यही आवश्यकता र सम्भावनालाई देखेर हामीले उनीहरूलाई दक्ष बनाउने कोसिस गरेका छौ ँ। तालिमपश्चात महिलाहरूले आफ्नै ब्रान्डमा अचार उत्पादन र विक्री गर्न सक्नेछन्।“
इटहरी वडा नम्बर १२ की समाजसेवी तथा स्थानीय महिला किशोरी वास्तोला का अनुसार, यस्तो तालिमले महिलाहरूको सीप विकास गर्न मात्र होइन, उनीहरूलाई आर्थिक स्वतन्त्रता हासिल गर्न पनि सघाउनेछ । उनले थपिन्, “हामीलाई घरमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मबल मिलेको छ । भविष्यमा साना–साना समूह बनाएर सामूहिक व्यवसाय गर्ने योजनासमेत छ ।“
यसअघि पनि उपमहानगरपालिकाले बेकरी तालिम, सिलाइ–कटाइ तालिम, माकुराचुलो निर्माण, सीप विकास सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । अहिलेको अचार बनाउने तालिमले महिलाहरूको घरायसी सीपलाई व्यवसायिक रूप दिन सघाउने विश्वास गरिएको छ ।
इटहरी उपमहानगरपालिकाको आगामी दिनमा अरू वडाहरूमा पनि यस्ता तालिम विस्तार गर्दै लैजाने योजना रहेको छ। तालिमहरूमा महिला सहभागिता उच्च भएको र तालिमले दीर्घकालीन रूपमा रोजगारी सिर्जना गर्ने सम्भावना देखिएकाले कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताइएको छ ।








